झापा एक्सप्रेस , ११५१८ पटक हेरिएको
दमक-झापाको दमकमा यही चैत २३ देखि २९ चैतसम्म सञ्चालित आठौँ दमक फुड फेस्टिबलमा करिब रु ५० लाखको कारोबार भएको छ ।
होटल व्यवसायी सङ्घ दमकको आयोजनामा आयोजित फुडफेस्टिबलमा करिब एक लाख व्यक्तिले अवलोकन गरेको कार्यक्रम संयोजक भुपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । धार्मिक, पर्यटकीय क्षेत्र तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरी आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यका साथ फुडफेस्टिबल आयोजना गरिएको उहाँले बताउनुभयो । उक्त फेस्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारले सातै दिन साङ्गीतिक प्रस्तुति दिएका थिए ।
कोरोना महामारीका कारण तीन वर्ष फेस्टिबल हुन सकेको थिएन । यस वर्ष जोखिम घटेसँगै फेस्टिबलमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको आयोजक होटल व्यवसायी सङ्घका अध्यक्ष योगराज दङ्गालले बताउनुभयो । फेस्टिबलमा तीन दर्जनभन्दा बढी विभिन्न किसिमका व्यावसायिक कक्ष राखिएका थिए ।
सो फेस्टिबलका अवसरमा हिमशिखर टेलिभिजका पत्रकार सुदीप अधिकारीलाई दमक पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । सङ्घले हरेक वर्ष यो पुरस्कार स्थानीय एकजना पत्रकारलाई नगद, प्रमाणपत्रसहित प्रदान गर्दै आएको छ । फुड फेस्टिबल समापनमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, होटल व्यवसायी महासङ्घका प्रदेश नं १ का अध्यक्ष राजन दङ्गाल, दमक–७ का वडाध्यक्ष भीम पौडेललगायतको उपस्थिति थियो ।(रासस )
प्रकाशित मिति: २०२२-०४-१३ , समय : १३:५२:४१ , ३ वर्ष अगाडि