झापा एक्सप्रेस , ४६०२ पटक हेरिएको
झापा गाउँपालिकामा आजदेखि शुरु खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गतिशील युवा क्लव बैगुनधुरा विजयी भएको छ ।
बाह्रदशी ११ संग भएको खेलमा १–० को गोल अन्तरले बैगुनधुरा विजयी भएको हो । बैगुनधुराका तर्फबाट दोस्रो हाफको चौथो मिनेटमा जर्सी नं. ११ का बादल तामाङले निर्णायक गोल गरेका थिए । उनी नै आजको खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा ए र बी समूह गरी आयोजकसहित ८ वटा टीमले भाग लिएका छन् । प्रतियोगितामा आयोजक जोरमाई युवा क्लब , बाह्रदशी ११ , गतिशील युवा क्लब बैगुनधुरा , के.एफ.सी. बिर्तामोड, राजगढ एफसी , लियो एफसी दमक , नागरिक स्पोर्टस एकाडेमी गौरादह र गेरबाबा एफसी अर्जुनधाराको सहभागिता रहेको क्लबका अध्यक्ष हेमकुमार राजवंशीले बताए ।
प्रतियोगितामा विजेता टिमलाई ६५ हजार र उपविजेता टिमलाई ३५ हजार नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष राजवंशीले बताए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक , उत्कृष्ट डिफेन्डर खेलाडीलाई जनही तीन हजार नगद र मेडल र प्रमाणपत्र प्रदान गरिने र उत्कृष्ट खेलाडीले नगद पाँच हजार , मेडल र प्रमाणपत्र पाउनेछन् ।
झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेकी थिइन् । उद्घाटन समारोहमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति जयनारायण शाह , जग्गादाता रत्नबहादुर खत्री , रणबहादुर इङ्नाम , इलाका प्रहरी कार्यालय कुमरखोदका दिपेन्द्र राई , झापा गाउँपालिका न्यायिक समिति सदस्य राजकुमार कोच , कार्यपालिका सदस्य दिलिप विश्वकर्मा , न्यू पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शंकरबहादुर पाण्डे , वुद्धिजीवी रामबहादुर खड्का , पूर्व प्रधानाध्यापक रामनारायण राजवंशी , सुन्दरलाल गणेशलगायतको उपस्थिति रहेको थियो । भोलिको खेल राजगढ एफसी र लियो एफसी दमकबीच हुने आयोजकले जनाएको छ । झापा गाउँपालिका वडा नं. २ मा रहेको जोरमाई युवा क्लव सडकवाडीको खेलमैदानमा कात्तिक २२ गतेसम्म प्रतियोगिता संचालन हुने भएको छ ।
प्रकाशित मिति: २०२४-१०-३१ , समय : १८:२८:०१ , १ महिना अगाडि