झापामा बाढीको बितण्डा

झापा एक्सप्रेस , ४०००३  पटक हेरिएको

अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका ५१ घर प्रभावित भएका छन् ।

मंगलबार बिहान अन्दाजी ११ः३० बजेको समयमा अविरल वर्षाका कारण गौरीगञ्ज र झापा गाउँपालिका- १ को सिमाना टप्पुस्थित माई खोलामा आएको बाढीले झापा गाउँपालिका-२ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएका हुन् । बस्तीमा अन्दाजी अढाई फिट पानी पसेको प्रहरीले जनाएको छ । त्यस्तै झापा-२ को कुवाडीमा पनि घुँडासम्म पानी जमेको छ ।

उक्त स्थानतर्फ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक दीपेन्द्र राईको कमान्डमा ४ जनाको टोली र बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको टोली खटिएको छ । माई खोला नजिकै रहेका झापा १ को मिलनबस्ती , सालमारा , लसुनगंज , सितुमारी र झापा २ को टप्पुगाउँ , सुगाबथान , कुवाडी , हवलदार बस्ती ,बालुवाटार र सडकवारि जोखिममा परेका छन् ।

त्यस्तै मेची नदीमा आएको बाढीले हात्ती छेक्न लगाएको ३ वटा पिलरसहित फेन्सिङ तार बगाएको छ । मेचीनगर नगरपालिका १ र ४ को सिमाना प्रसाद गौडामा मेची नदीमा बाढीले कटान गर्दा पिलरसहित फेन्सिङ तारसमेत बगाउँदा अन्दाजी एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

रतुवा खोलामा आएको बाढीका कारण गौरादहका २५ घर डुबानमा परेका छन् । मंगलबार दिउँसो साढे १ बजेको समयमा जिल्ला गौरादह नगरपालिका-६ स्थित रतुवा खोलामा पानीको बहाव बढेर टंगुवा टोलमा रहेको ताजपुरीया बस्तीमा पस्दा २५ घर डुबानमा परेका हुन् । घरमा पानी पसेर सामान्य क्षति पु¥याएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मानिसहरू विस्थापित हुने अवस्था तत्काल नरहेको र खोलामा पानीको बहाव घट्ने क्रममा रहेको प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०७-०९ , समय : १८:४८:२४ , २ हप्ता अगाडि