झापामा सशस्त्र प्रहरीले गर्यो स्थानीयलाई हेल्मेट प्रहार

झापा एक्सप्रेस , ९००७५  पटक हेरिएको

झापा एक्सप्रेस, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् ।

हेल्मेट प्रहारबाट झापा गाउँपालिका-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र मुख फुटेर रगताम्य भएका उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

आज आइतबार दिउँसो पन्थापाडा र सुकुमबासी बस्तीको बीचमा सशस्त्र प्रहरी जवानले झापा ४ का वडा अध्यक्ष मोहमद ताहिरकै अगाडि हबिबुल्लाहलाई धकेल्दै हेल्मेट प्रहार गरेका थिए ।

वडा अध्यक्ष ताहिरका अनुसार हबिबुल्लाहका भाइ विदेश जाने भएपछि आफ्नो कपडा पसल स्थानीय व्यापारी निर्मल मर्डीलाई बिक्री गरेका थिए । मर्डी सोही पसलका कपडा लिएर मोटरसाइलमा रहेका बेला सशस्त्र प्रहरीले रोकेर सोधपुछ गरेका थिए ।

मर्डीले कपडाका बारेमा विस्तृत बताए पनि प्रहरीले बील मागेपछि वडा अध्यक्ष ताहिर र हबिबुल्लाहलाई बोलाएका थिए । हबिबुल्लाहले कपडाको बील देखाए पनि प्रहरीले मानेनन् ।

त्यही बेला सशस्त्र प्रहरी जवानले हबिबुल्लाहलाई धकेलेका थिए । प्रतिक्रिया स्वरुप हबिबुल्लाहले पनि प्रहरीलाई धकेलेका थिए । त्यस क्रममा हबिबुल्लाहमाथि हेल्मेट प्रहार भएको बताइएको छ।

प्रकाशित मिति: २०२४-०६-३० , समय : २०:३२:१७ , ३ हप्ता अगाडि