झापा गाउँपालिकामा हात्तीपाइले रोगविरुद्दको औषधी खुवाउने अभियान सुरु

झापा एक्सप्रेस , २८९५४  पटक हेरिएको

झापा । झापा गाउँपालिकामा हात्तीपाइले रोगविरुद्दको औषधी खुवाउने अभियान सुरु भएको छ । गाउँपालिका कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाले औषधी खाएर अभियानको शुभारम्भ गर्नुभयो ।

संक्षिप्त कार्यक्रममा बोल्दै कार्हबाहक अध्यक्ष थपलियाले गाउँवासी सबैलाई औषधी अनिवार्य सेवन गर्न आग्रह गर्नु भयो । उहाँले घर घरमा आउने स्वास्थ्यकर्मी वा पायक पर्ने केन्द्रमा पुगेर औषधी सेवन गर्न र यसबाट हुने संक्रमणबाट बच्न सबैलाई आव्हानसमेत गर्नुभयो ।

झापा गाउँपालिकामा औषधी खुवाउने अभियानका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । उनीहरुले घर घरमा पुगेर औषधी खुवाउने छन् । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ ।

झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधी खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताउनुभयो ।

कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ । हाल झापामा २ सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन् । यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियानलाई सफल बनाउन झापामा सात सय ५० स्वास्थ्यकर्मी र छ सय छ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

प्रकाशित मिति: २०२४-०४-२८ , समय : १८:३४:४८ , ३ हप्ता अगाडि