झापा विद्युतीय व्यवसायी संघद्धारा जग्गादाता सम्मानित

झापा एक्सप्रेस , २३०१९  पटक हेरिएको

भद्रपुर,१५ बैशाख । झापा विद्युतीय व्यवसायी संघले जग्गादाता बिर्तामोडका अग्रवाल दम्पत्तीलाई सम्मान गरेको छ । आज शनिबार नव बर्ष २०८१ सालको शुभकामना आदान प्रदान तथा संघद्धारा प्रकाशित क्यालेन्डर बिमोचन कार्यक्रमकाबिच संघको भवन निमार्णकालागि निशुल्क जग्गा दान गर्ने व्यवसायी तथा समाजसेवी दिपचन्द्र अग्रवाल र उनी धर्मपत्नी अनिता अग्रवालाई सम्मान गरिएको हो ।

दिपचन्द्र झापा विद्युतीय व्यवसायी संघको संस्थापक अध्यक्ष हुन् । उनले संघको भवन निमार्णकालागि बिर्तामोड ४ मा निशुल्क साढे ८ धुर जग्गा प्रदान गरेका छन् । लामो समयदेखि इलेक्ट्रिक व्यवसायमा आबद्ध अग्रवालले सामाजिक उत्तरदायित्व वहन गर्दै संघको भवन निमार्णकालागि जग्गा उपलब्ध गराएको बताए ।

अग्रवाल दम्पत्तीलाई प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष राजु न्यौपाने, संघको अध्यक्ष डिल्लीराम बाराकोटी, निवर्तमान अध्यक्ष भक्क्ती प्रसाद पाठक लगायतले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।

संघको आफ्नै कार्यालय भवन नहुंदा धेरै नै कठिनाई भइरहेको बताउंदै जग्गादाताका छोरा तथा संघको कोषाध्यक्ष विवेक अग्रवालले कार्यलय भवनको आवश्यकता महशुस गरेर त्यसकालागि आफुहरुको परिवारबाट जग्गा प्रदान गरिएको बताए ।

सम्मानित अग्रवालले अब बन्ने संघको भवनकालागि छत ढलानकालागि आवश्यक सम्पूर्ण सामाग्री पनि निशुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् । संघको संस्थापक अध्यक्ष दिपचन्द्र अग्रवाल तथा संघको अध्यक्ष डिल्लीराम बाराकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघको उपाध्यक्ष अम्बर बहादुर अधिकारीले गरेका थिए । सोही कार्यक्रममा अध्यक्ष बाराकोटीले संघको भवन निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

संघको सचिव रोशन बस्नेतले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि राजु न्यौपाने, संघको निवर्तमान अध्यक्ष पाठक लगायतले शुभकामना राखेको संघका सह सचिव दिनेश भट्टराईले जानकारी दिए । कार्यक्रममा क्यालेन्डर प्रकाशनमा सहयोग पु-याउने व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०४-२७ , समय : १८:५५:०२ , ३ हप्ता अगाडि