झापा गाउँपालिकाबाट ६३.५९ ग्राम ब्राउन सुगरसहित फेरि दुई जना पक्राउ

झापा एक्सप्रेस , २१२८८०  पटक हेरिएको

झापा । सशस्त्र प्रहरीले झापा गाउँपालिकाबाट फेरि ६३ दशमलव ५९ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका– ७ का २५ वर्षीय सुनिराम हेमरम र सोही ठाउँका २१ वर्षीय हिरण राजवंशी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।

सशस्त्रले सात घण्टाको अन्तरालमा त्यहाँबाट १०० ग्राम बढी ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिसकेको छ । झापा गाउँपालिका–४ लसुनामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट खटिएको चेक प्वाइन्ट टोलीले गए राति ८ बजेको समयमा पैदल आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा हेमरमले किराना सामान बोकेको झोलाबाट ६३ दशमलव ५९ ग्राम ब्राउन सुगर फेला परेको सूचना अधिकारी कटुवालले बताए ।

सशस्त्रले ब्राउन सुगरसहित पक्राउ गरेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद बुझाइसकेको छ । सशस्त्रका बिओपी टाघनडुब्बाबाट खटिएको टोलीले झापा–१ सितुमारीबाट शुक्रबार दिउँसो १ बजेको समयमा बीआर ३७ एन ५८११ नम्बरको भारतीय मोटरसाइकलमा सवार २३ वर्षीय राहुल मण्डललाई शङ्का लागि चेकजाँच गर्दा ४८ दशमलव ५५० ग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका मण्डल भारत किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत बालुवाडीका बासिन्दा हुन् ।

प्रकाशित मिति: २०२४-०४-०६ , समय : ०९:३७:०० , १ महिना अगाडि