झापा एक्सप्रेस , ९१५७२ पटक हेरिएको
हाम्रो संस्कार र संस्कृती लोप हुँदै गरेको अहिलेको अवस्थामा झापाको झापा गाउँपालिकाले भने महिलाहरुलाई नौमती बाजा बजाउन प्रशिक्षण दिएको छ ।झापा गाउँपालिका वडा नम्बर ७ का २० जनाको महिला समूह बनाई सो प्रशिक्षण दिएको हो ।
झापा गाउँपालिका र मिसियो जर्मनीको आर्थिक सहयोगमा नौमती बाजा बजाउने तालिम दिइएको हो । तालिम कार्यक्रमको आयोजना कारितास नेपालले “सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धन तथा मानव बेचबिखन रोकथाम परियोजना” अन्तरगत गरेको हो ।
१५ दिने उक्त तालिममा महिलाहरुले धेरै कुरा सिकेको बताएका छन् । नौमती बाजा बजाउन सिकाएर आयआर्जनको बाटो बनाउन सिकाएको प्रशिक्षार्थी पार्वता सिवाकोटी प्रसाईले बताउनु भयो ।
वडा नम्बर ७ ले महिलाहरुलाई नौमती बाजा बजाउने सामग्री समेत दिएको छ ।वडाले करिव १ लाख ४८ हजार खर्चेर नौमती बाजाका सामग्री खरिद गरेको बताइएको छ । साथै महिलाहरुलाई पोशाकको समेत व्यवस्था गरेको वडा नम्बर ७ का वडाध्यक्ष सखिचन्द्र ठाकुरले बताउनु भयो ।
नौमती बाजा बजाउन जान्नाले आय आर्जनमात्र होइन हाम्रो संस्कार र संस्कृती समेत संरक्षण गर्ने गाउँपालिकाकी कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताउनु भयो .
कारितास नेपालले झापा गाउँपालिकासंग विगतका दिन देखीनै सहकार्य गरेको कारितास नेपालका प्रादेशिक कार्यक्रम प्रमुख देवेन्द्र पोखरेलले बताउनु भयो ।
प्रकाशित मिति: २०२४-०४-०५ , समय : २२:२७:११ , १ वर्ष अगाडि