गौरीगंज गाउँपालिकाले वितरण गर्यो छात्राहरुलाई साइकल

झापा एक्सप्रेस , ३१०३२  पटक हेरिएको

छात्राहरुलाई शिक्षाप्रति पहुँच पुर्याउन र विद्यालय आवत जावतमा सहजता पुर्याउन गौरीगंज गाउँपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।
बिहिबार गाउँपालिकाले गौरीगंज –६ स्थित खजुरगाछी माविका कक्षा ९ मा अध्ययनरत ६६ जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।

गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी,उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, वडा नं. ४ का वडा अध्यक्ष फेका गिरी लगायतले संयुक्तरुपमा छात्राहरुलाई साइकल वितरण गर्नुभएको थियो ।छात्राहरुलाई शिक्षाप्रति पहुँच पुर्याउन र विद्यालय आवत जावतमा सहजता ल्याउनका लागि छात्राहरुलाई साइकल वितरण गरिएको गाँउपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले बताउनुभएको छ ।

पैदल हिडेर एक गाउँबाट अर्को गाउँमा पढ्न जादाँ धेरै समय लाग्ने र बर्षायाममा पनि विद्यालय जान गाह्रो हुने हुदा अब सजिलो भएको विद्यार्थीहरुले वताएका छन् . गाउँपालिकाले गौरीगंजका अन्य ३ वटा सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययन गर्ने छात्रालाई पनि साइकल वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले जानकारी दिनुभयो। गाउँपालिकाले चार वटा सामुदायिक विद्यालयका २३६ जना कक्षा ९मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने लक्ष्य राखेको छ ।गाँउपालिकाले वर्षेनी नीति तथा कार्यक्रममार्फत् नै सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: २०२४-०३-२९ , समय : १९:०५:०३ , ९ महिना अगाडि