झापा एक्सप्रेस , ५२८८१ पटक हेरिएको
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ ।
बोत्स्वानाको राजधानी गाबारोनाबाट दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तस्थित मोरिया जाँदै गरेको बस बिहीबार दिउँसो जोहानेसबर्गभन्दा ३ सय किलोमिटर वर रहेको एमममत्लाकाला पुलबाट खसेको समाचार संस्था एशोसियट प्रेसले जनाएको छ ।
पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो । दुर्घटनामा घाइते एक ८ बर्सिया बालिकाको भने जीवितै उद्धार गरिएको छ।तर, उनको अवस्था गम्भीर रहेको छ । उनीहरू इस्टर पर्व मनाउन मोरिया जाँदै थिए ।
लिम्पोपोकी यातायात मन्त्री सिन्दसिवे छिकुंगा पनि घटनास्थल पुगेकी थिइन् । अझैपनि बसमा केही यात्रुहरू च्यापिएको हुनसक्ने उद्धारमा खटिएका अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
पुलमा पुगेपछि चालकले नियन्त्रण गुमाएपछि बस पुलबाट खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: २०२४-०३-२९ , समय : १०:१३:५५ , ८ महिना अगाडि