Jhapa Express , ७७१२ पटक हेरिएको
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गराउने अडान लिएपछि सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्णायक मोडमा पुगेका छन्।
प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेर जान तयार भएपछि माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूलाई प्रचण्ड निवास खुमलटार बोलाइएको छ।
माओवादीका अधिकांश नेताहरु एमसिसी संशोधनबिना पास गर्न नहुने पक्षमा छन्। तर, प्रचण्डले गठबन्धन जोगाएर एमसिसी समस्या समाधान गर्ने बताउदै आइरहेका छन्। यस्तै, एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो। कांग्रेस र एमालेबीच एमसिसी पारित गर्न सहकार्य हुने संकेत पाएपछि मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादी लचिलो बनेका छन्।
शनिबार पनि कांग्रेस र एमाले नेताहरूबीच छलफल भएको थियो। आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टीको निर्णयसहित एमसिसीको पक्षमा मतदान गर्ने प्रतिबद्धता नजनाए गठबन्धन टुट्ने कांग्रेसको अडान छ।
प्रकाशित मिति: २०२२-०२-२७ , समय : ०९:०९:२९ , ३ वर्ष अगाडि