कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा प्लान्टको परीक्षण शुरु

झापा एक्सप्रेस , २३३६१  पटक हेरिएको

झापाको कनकाई– बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्य सुरु गरेको छ ।बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य सुरु गरेको हो । सेग्रीगेसन परीक्षणका रुपमा सुरु गरिएको कम्पनीले जनाएको छ ।

कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्माले संयुक्तरुपमा सेग्रीगेसन मेसिनको बटम थिचेर परीक्षण कार्यको उद्घाटन गरेका थिए ।

यस मेसिनमा सेग्रीगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइन्छ । नकुहिने प्लास्टिकजन्य फोहोरको लागि भने पेवर्स,ब्लग बनाउने मेसिन खरिद प्रक्रियामा रहेको छ। अबको एक महिनादेखि डेढ महिनाभित्रमा त्यो मेशिन पनि जडान हुने भएकाले तीनै वटा पालिकाको फोहोर व्यवस्थापन हुने कम्पनीका मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिम अलिले जानकारी दिए । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँले यो प्लान्ट पूर्णरुपमा सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनमा सहज हुने बताइन् । फोहोर स्रोतमै वर्गीकरण गर्नु पर्ने भएकोले घर,पसल, होटेलमै कुहिने र नकुहिने फोहोर छुट्टाउन नगरवासीलाई उनले आग्रह गरिन् । हाल बिर्तामोडको कृषि थोक बजारबाट निस्किएको फाहोरमात्रै प्लान्टमा गइरहेको र अब बाँकी फोहोर पनि चाँडै पठाइने नगर प्रमुख प्रसाईँले जानकारी दिइन् ।

यस्तै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोख्रेलले क्रमागत रुपमा ढिलै भए पनि लक्ष्य प्राप्तिको दिशामा पुगेको बताए । उनले पनि तीन वटै पालिकाबाट सेग्रीगेसन गरिएको फोहोर ल्याउनु पर्नेमा जोड दिँदै स्रोतमै वर्गीकरण गर्न सबैलाई आग्रह गरे ।

सेग्रीगेसन मेशिनको औपचारिक उद्घाटन आगामी सोमबार गरिने कम्पनीका अध्यक्ष मदन गोपाल सुब्बाले जानकारी दिए । सेग्रीगेसन परीक्षण कार्य उद्घाटनमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कम्पनीका बोर्ड सदस्य मिनाल तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।

कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृ निकाय र स्थानीय नागरिक समेतको परियोजनामा २२ करोड रुपैयाँ लगानीमा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि ग्यास प्लान्ट निर्माण गरिएको हो । प्लान्ट कनकाई नगरपालिका २ मा रहेको छ ।

प्रकाशित मिति: २०२३-१२-३० , समय : १०:२३:४३ , १२ महिना अगाडि