झापा एक्सप्रेस , २६९३४ पटक हेरिएको
उर्लाबारी, ७ मंसिर
माेरङकाे उर्लाबारी-९ का स्वर्गीय दुर्गाराज पोमूको स्मृतिमा उहाँको परिवारले स्थानीय एक विद्यालयमा अक्षयकोष स्थापना गरिदिनु भएको छ । पोमुको परिवारले प्रभात आधारभुत विद्यालयमा २ लाख बराबरको अक्षयकोष स्थापना गरिदिनुभएको हो।
आज विद्यालयमा व्यवस्थापन समिति र पोमू परिवारबिच अक्षयकोषको बिषयमा छलफल भएको थियो ।
छलफलले विद्यालयको शैक्षिक उन्नयनमा २ लाख बराबरको अक्षयकोष स्थापना गर्ने सम्झौता भएको छ।
‘हामीले हाम्रा स्वर्गीय पिताको नाममा गरिव जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष खडा गरेका हौ, कोषको रकमको ब्याजबाट विद्यालयमा बर्षेनी कार्यक्रम हुनेछन्, जसको लागि अक्षयकोषको बिधिविधान बनाउने छौ´कान्छा छोरा लोलिम पोमूले भन्नुभयो ।
उहाँले आफूहरुले स्थापना गरेको कोषको छात्रवृत्तिले विद्यार्थीको पढाईको स्तरबृद्धि हुने अपेक्षा गरेको बताउनुभयो । स्वर्गीय दुर्गाराज पोमू उक्त विद्यालय विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । प्रभात स्कुल स्थापनामा उहाँहरुको अमूल्य योगदान रहेको छ । विद्यालयका प्रअ मोहन चाँपागाईले अक्षयकोष स्थापना प्रति खुशी प्रकट गर्दै पोमू परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले भन्नुभयो, सामुदायिक विद्यालय एकदमै कठिनका साथ सन्चालन भईरहेका छन्, यस्ता सहयोगले विद्यालयको शैक्षिक मुहार फेर्न टेवा पुग्नेछ। अझ यस विद्यालयका स्थापनाका धरोधर संरक्षक दुर्गाराजको नामको सहयोग पाउँनु हाम्रो लागि धेरै खुशीको कुरा हो।
विद्यालयका अध्यक्ष सुरेन्द्र शेर्माको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विद्यालयका प्रअ मोहन चाँपागाई,शिक्षक सन्तकुमार बस्नेत, स्थानीय मानबहादुर थापा, परिवारको तर्फबाट दिलिप कुमार पोमू, लोलिम पोमू, दिपेन्द्र पोमू, अभिषेक पोमू लगायतको उपस्थिति रहेको थियो । ताप्लेजुङ जिल्ला निगुरादिन-६ खानीगाँउमा पिता कुलमान पोमू र माता निरमाया सिरेङ चोङबाङका ५ पुत्ररत्न मध्ये साईला पुत्ररत्नका रुपमा २००१ साल मंसिर १० गते जन्मभई हाल उर्लाबारीमा स्थायी बसोबास गर्दै आउनुभएका पोमूको गत कात्तिक २७ गते निधन भएको थियो।
प्रकाशित मिति: २०२३-११-२३ , समय : १८:०९:३३ , ११ महिना अगाडि