इलाममा मनाइयो फाल्गुनन्दको १ सय ३९ औं जन्मजयन्ती

झापा एक्सप्रेस , ७२१५७  पटक हेरिएको

किरात धर्म गुरु राष्ट्रिय बिभुती समाजसुधारक फाल्गुनन्दको १ सय ३९ औं जन्मजयन्ती किरात धर्मावलम्बीहरुले शनिबार देशैभर विविध कार्यक्रम गरी मनाएका छन् ।

फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे ,लिङदेनको किरात भाषा ,संस्कार र संस्कृतिको बिकासको लागि महत्वपूर्ण योगदान समेत रहेको छ । यसबीच उनले देशद्रोहीको अभियोग पनि खेपेका थिए । वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन् ।

बाबु जगनबाज लिङदेन र आमा हंसमती लिङदेन कोखबाट विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको माङसेबुङ २ (साविक इभाङ ५) चुक्चिनाम्बामा फाल्गुनन्दको जन्म भएको थियो । आज किरात धर्मगुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा इलामको फाकफोकथुम गाउपालिका वडा नं ७ एकतप्पामा विविध कार्यक्रम गरि मनाइएको छ ।

पञ्च योङहाङ लिम्बुको अध्यक्षता गाउपालिका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यता गाउपालिका उपाध्यक्ष कल्पना राई , अधिवक्ता सुहाङ नेम्बाङ , निवर्तमान गाउपालिका अध्यक्ष राम कुमार श्रेष्ठ लगायतको विशेष आतिथ्यतामा भएको कार्यक्रममा संघिय सासंद तथा संविधान सभाका अध्यक्ष स्व सुवास चन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले महागुरु फाल्गुनन्दको योगदान कहिले भुल्न नहुने साथै सबै मिलेर आफ्नो धर्म संस्कृतिलाई अनुसरण गर्दै लैजानुपर्ने बताए ।उनले परिवर्तनको पक्षमा सबै मिलेर जान समेत आग्रह गर्दै अब चाडै यसै गाउँ ठाउँमा भेट हुने बताए ।

यता गाउपालिका अध्यक्ष दिपेन्द्र खनालले महागुरु फाल्गुनन्द लिङदेनको अभियानले सार्थकता पाउदै गएको बताए । धर्मगुरु लिङदेनको जन्मजयन्तिको अवसरमा १३९ वटा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

फाल्गुनन्दले १९८८ बैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालिन दश लिम्वुवानका प्रतिनिधि बोलाएर किराँत याक्थुङ वृहद चुम्लुङ वोलाएर दशवुँदे सत्य धर्म मुचुल्का पारित गराएका थिए ।
जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुट्किलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिवशका रुपमा मनाउने गर्छन ।

उनको निधन २००५ साल चैत २२ गते भयो । उनलाई नेपाल सरकारले वि स २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभुती घोषणा गरेको थियो ।

नेपाल सरकारले उनलाई राष्ट्रिय विभुती घोषणा गर्नुका साथै उनको फोटो अंकितहुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ ।

प्रकाशित मिति: २०२३-११-१२ , समय : १३:५५:०७ , ८ महिना अगाडि