अरिंगालले टोकेर बाह्रदशीकी एक महिलाको मृत्यु, २ जना घाइते

झापा एक्सप्रेस , ३३७०४  पटक हेरिएको

झापा- अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर बाह्रदशी गाउँपालिका-५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो ।

अरिंगालले टोकेर मृतककी छोरी लक्ष्मी र ७ वर्षीय नाति घाइते भएका छन् । बिहीबार साँझ ५ बजे घर नजिकै घाँस काट्न जाँदा रामप्यारीमाथि अरिंगालको पूरै गोला खनिएको थियो ।

घाइते भएकी उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको र उनको उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् । घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको घरमै उपचार भइरहेको बाह्रदशी ५ नम्बरका वडा सदस्य जय तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-१०-०६ , समय : १६:०७:४८ , ८ महिना अगाडि