झापा एक्सप्रेस , ३८२७६ पटक हेरिएको

कनकाई-झापा कनकाई नगरपालिका सुरुङ्गामा समेत डेँगीको संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
झापा कनकाई नगरपालिका ३ सुरुङ्गामा दाजुभाई होटल संञ्चालन गर्दै आउनुभएकी ५२ बर्षिय पवित्रा श्रेष्ठको डेँगीको कारणबाट मृत्यु भएको छ । ज्वरो आएर निमोनियासँगै डेँगुको संक्रमणबाट बिर्तामोडस्थित बिर्तासिटी अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको श्रेष्ठको हिजो सोमबार दिउँसो ४ बजे निधन भएको मृतकका भाई अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै जान थालेको छ । कनकाई नगरपालिकामा यसको भयावह अवस्था आउन थालेसँगै कनकाई नगरपालिकाले लामखुट्टे मार्नका लागी स्प्रे छर्न सुरु गरेको छ । कनकाई नगरपालिकाका ९ वटै वार्डमा लामखुट्टे मार्नका लागि स्प्रे सुरु गरिएको र कनकाई नगरपालिकाको कनकाई नगर अस्पतालाई थप जनशक्ति सहित तैनाथ राखिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । यता डेँगीको वढदो प्रकोपसँगै कनकाई नगर अस्पतालमा ज्वरोका बिरामीले अस्पताल भरिएको छ ।
कनकाईकी पवित्राको मृत्युसँगै साउन महिनायता डेंगी संक्रमणबाट झापामा चार जनाको मृत्यु भइसकेको छ । त्यस्तै भदौ ४ गतेसम्म झापामा डेंगी संक्रमितको संख्या १२३८ पुगेको छ । ३ हजार ७४८ जनाको परीक्षण गर्दा त्यति जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितमध्ये हाल ३३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: २०२३-०८-२२ , समय : ०६:२९:०७ , २ वर्ष अगाडि