झापा एक्सप्रेस , ४६१२३ पटक हेरिएको
शिवसताक्षी । झापाको शिवसताक्षीमा एक औषधि पसलबाट आइतबार प्रतिबन्धित औषधि ठुलो परिमाणमा बरामद गरिएको छ । स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको शिवसताक्षी-७ स्थित व्याङ्गडाँडा मेडिकल हलबाट प्रतिबन्धित औषधि ठुलो परिमाणमा बरामद गरेको हो ।
मेडिकलमा चेक जाँचका क्रममा ९ हजार ९ सय ३० थान प्रतिबन्धित ट्रामाडोल औषधि लुकाएर राखेको अवस्थामा फेला परेको स्वास्थ्य कार्यालय झापाका फार्मेसी प्रमुख रमेश बारकोटीले जानकारी दिए । उनले यो औषधि नेपालमा बेचबिखन गर्न रोक लगाइएको बताए । उनका अनुसार यस्ता प्रतिबन्धित औषधिहरू पछिल्लो समय लागु औषधको रुपमा प्रयोग भइरहेको जानकारी दिए । उनले भने, जिल्ला स्वास्थ्य कार्यालयले यस्ता औषधिहरू झापाका विभिन्न स्थानबाट बरामद गर्दै आएको समेत छ । सोही मेडिकलबाट अन्य नेपालमा दर्ता नभएका औषधिहरू पनि फेला परेको छ ।
उक्त मेडिकललाई स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय झिलझिले, शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखा र दुधे बजार विकास समितिको संयुक्त टोलीले सिल गरेको छ । औषधि पसल समेत दर्ता नगरी चलाइएको पाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । त्यसैगरी शिवसताक्षी-६ शिवगञ्ज स्थित निश्चल फार्मेसीमा पनि प्रतिबन्धित औषधी फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उक्त फार्मेसीमा २१६ थान औषधि फेला परेको थियो ।
प्रकाशित मिति: २०२३-०७-३१ , समय : ११:१४:१९ , १ वर्ष अगाडि