नाउप (एकिकृत) लिम्बुवान प्रान्तीय समिति गठन, अध्यक्षमा भुपेन्द्र माबो

झापा एक्सप्रेस , ३६२३१  पटक हेरिएको

बिर्तामोड । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले लिम्बुवान प्रान्तीय समिति गठन गरेको छ । पार्टीले भुपेन्द्र माबोको अध्यक्षतामा ५९ सदस्यीय समिति गठन गरेको हो ।

पार्टीको शनिवार दमकमा भएको भेलाले माबोको अध्यक्षतामा समिति गठन गर्नुका साथै १४ बुँदे राजनीतिक प्रस्तावसमेत पारित गरेको छ । पार्टीले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी सो बिषयमा जानकारी गराएको हो ।

नव गठित समितिको उपाध्यक्षमा डा. रामनारायण कन्दङ्वा, नन्द याम्फु, डा. चैतन्य केदेम, मिना गजमेर, राजेन्द्र दाहाल, प्रेमकुमार सोदेम्बा छन् भने महासचिवद्वय जीतबहादुर राई र योवाहाङ तुम्बाहाम्फे रहेका छन् । त्यस्तै सचिवमा बिजय निङ्लेखु, बिना तामाङ, पञ्च आङदेम्बे र कोषाध्यक्षमा एसपी सोदेम्बा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पार्टीका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक अम्बरबहादुर पन्धाकको अध्यक्षतामा र नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का संरक्षक रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा नयाँ समितिको गठन भएको पार्टीका केन्द्रिय सचिवालय सदस्य धनबहादुर पन्धाकले जानकारी दिए । लिम्बुवान प्रान्तीय समितिले पारित गरेको प्रस्तावमा पहिचान बिहीन कोशी नामाङ्कन खारेज गरी पहिचानमा आधारित पुनः नामाङ्कन, पहिचान आन्दोलनका शहिद लाजेहाङको परिवारलाई क्षतिपूर्ति, पहिचानको आन्दोलनका क्रममा घाइते भएकालाई उपचार खर्च उपलब्ध, आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न माग गरेको छ । त्यस्तै संघीयताको मर्म अनुसार केन्द्रिय सरकारमा रहेका अधिकार प्रदेशमा हस्तान्तरण गरी सुशासनको प्रत्याभूति हुने गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न, धर्मनिरपेक्ष राज्य संस्थागत गरी, सर्वधर्म समभाव एवम् एकात्मक जातीबादी राज्य संरचनाबाट संघीय लोकतान्त्रिक राज्य संरचना अनुसारको सामाजिक संरचना निर्माण गर्नुपर्ने लगायत १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

पार्टीका केन्द्रिय सदस्य पन्धाकले संघीयता मोडल कमिङ टु गेदर हुनु पर्नेमा होल्डीङ टु गेदर भएकाले सात प्रदेश बैज्ञानिक नभएको बताए । उनले बैज्ञानिक प्रदेश बनाउनका लागि १० प्लस एक संघीय ढाचालाई पार्टीले अघि सारेको बताए ।

महासचिव योवाहाङ तुम्बाहाम्फेले सहजीकरण गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य चेन्जी मावो, प्रान्तीय समितिका सदस्य बिशाल साँबालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०७-३१ , समय : ०६:१७:४६ , २ वर्ष अगाडि

error: Content is protected !!