सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग गर्नेलाई झापाको कनकाईले कार्वाही गर्ने

झापा एक्सप्रेस , २६२१३  पटक हेरिएको

कनकाई -झापाको कनकाई नगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग गर्नेहरूलाई जरिवाना तोकेको छ ।

नगरपालिकाले केही दिन देखि गरेको सूचना र आज गरेको सचेतना कार्यक्रम मार्फत जरिवाना तोकिएको जानकारी गराएको हो।

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्री वितरणकर्तालाई अधिकतम रू ५० हजार र प्रयोगकर्तालाई अधिकतम रू पाँच हजार सम्म जरिवाना तोकिएको बताइएको छ ।

सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।

नेपाल सरकारको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा राज्य तथा सरकारी निकाय, संस्था तथा कार्यालय, शिक्षण, तालीम केन्द्र, स्वास्थ्य केन्द्रहरू, पुस्तकालय, बाल उद्यान, सार्वजनिक शौचालय, उद्योग तथा कारखाना, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास अतिथि गृह, रङ्गशाला, कभर्डहल, व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, स्टोर, मिनी मार्केट, धर्मशाला, धार्मिक स्थल, सार्वजनिक सवारी, प्रतीक्षालय, टिकट काउन्टर लगायतका क्षेत्रलाई सार्वजनिक स्थल तोकेको छ । यसैबीच आज आईतवार नगरका सबै जसोवडाले उक्त कार्यलाई सफल पार्न बजार टोल तथा चोकचोकमा सचेतनामुलक र्याली समेत निकालिएको थियो।

प्रकाशित मिति: २०२३-०७-१६ , समय : १६:५१:०८ , २ वर्ष अगाडि

error: Content is protected !!