झापा एक्सप्रेस , ३७७४९ पटक हेरिएको
कनकाई-झापाको कनकाई नगरपालिका ६ नम्बर वडा कार्यालय सञ्चालनका लागि बनाइएको भवन प्रयोगविहीन हुँदा अलपत्र बनेको छ । गत वर्ष निर्माण सम्पन्न भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको छ।
स्थानीय रामचन्द्र पौडेलले उपलब्ध गराएको २ कट्ठा जग्गामा बनेको सो भवनको संरचना उपयुक्त नहुँदा हालसम्म प्रयोगमा आउन सकेको छैन । कार्यालय प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको छ भने शौचालयमा राखिएको पानी ट्याङ्की हावाले उडाएको छ । आफ्नै भवनमा कार्यालय राख्न नपाएपछि वडा कार्यालय भने स्वास्थ्यको भवनमा राखिएको छ ।
नयाँ कार्यालय भवन साँघुरो र अपायक भएकाले वडा कार्यालय सार्न नसकिएको वडाध्यक्ष दीर्घबहादुर थापाले बताए । उनले भने– ‘असुविधा, साँघुरो, कर्मचारीहरू राम्ररी बस्ने ठाउँ नभएको सानो वडा कार्यालय बनेको कारणले, अनि सुरक्षाको दृष्टिकोणले पनि एकान्त, भुँइ तला र टिनको छानो मात्र भएकाले अहिले त्यहाँ सर्न सकिएको छैन ।’ कार्यालय भवन एकान्तमा भएको, टिनको छानो भएको र सुरक्षाका दृष्टिकोणले असुरक्षित भएकाले वडा कार्यालय तत्काल सार्न नसकिएको उनको भनाई छ ।
इलामको सिद्धिथुम्का निर्माण सेवा प्रा.लीले भवन निर्माण गरेको हो । नगरपालिकाले सिद्धिथुम्का निर्माण सेवालाई उक्त भवन निर्माणका लागि भ्याटसहित ३१ लाख ९८ हजार ९३० रुपैयाँ ६५ पैसा उपलब्ध गराएको थियो । शौचालय बाहेक आठ वटा पिलर राखेर ४० फिट लम्बाई र २२ फिट चौडाइको उक्त भवनको छानामा भने टिन लगाइएको छ । कार्यालय भित्र आल्मुनियमले पार्टिसन गरिएको छ ।
संरचना निर्माणको हिसाबले लागत मुल्य अत्यधिक महँगो भएको स्थानीयवासीको गुनासो छ । एक स्थानीयवासीले भने– ‘त्यत्रो पैसाले त त्यति सानो भवनको पक्की छत नै बनाउन सकिन्छ ।’ संरचना निर्माणमा अनियमितता भएको उनले आरोप लगाए । उनका अनुसार लागत अनुमान बढी गरेर कम मूल्यमा संरचना निर्माण गरिएको छ ।
यता भवन निर्माणका विषयमा वडाध्यक्ष आफूपनि सन्तुष्ट छैनन् । उनले भवनको स्टमेट आफूले मागेपनि हालसम्म उपलब्ध नभएको बताए । ‘निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकमा मैले यस विषयमा कुरा उठाएको थिएँ,’ उनले भने, ‘भवन कसरी त्यस्तो बन्यो, कतिको हो, के हो, कसले स्टमेट गरेको हो, ठेकेदार को हो स्टमेट हेर्न पाउँ भनेर मैले त्यहाँ कुरा राखेको हुँ ।’ तर त्यस दिन बिहानको बैठक भएको र कर्मचारी नआएकाले हेर्न नपाएको उनले बताए । त्यसपछि पनि बारम्बार त्यस विषयमा कुरा गर्दा खासै भरपर्दो जवाफ कसैले पनि नदिएको वडाध्यक्ष थापाले गुनासो गरे ।
यता उक्त भवन ३२ लाखमा बनेको सुनेपछि स्थानीयले भष्टाचारको आशङ्का गरेका छन । हामीले आफ्नो घर बनाउनु हो भने ७ लाखमा यतिको टिनको घर बनाउन सक्छौ सरकारी काममा कसरी ३२ लाख खर्च भयो स्थानीय एकले भने, यता भवन निर्माण भएको लामो समयसम्म वार्ड कार्यालय नसरेपछि वार्ड कार्यालयको भवनमा भने स्थानीयले पानी परेका वेला मकै थन्काउने बाख्रा बाँध्ने काम गदै आएका छन । जनताकै करबाट बनेको भवनमा वार्ड कार्यालय नसरेपछि स्थानीयले पानी परेको बेला घाँस पराल राख्न पाएको बताएका छन ।
प्रकाशित मिति: २०२३-०७-०४ , समय : ११:३३:३० , १ वर्ष अगाडि