कर तिर्ने नगरबासीलाई पाँच हजार पर्ने चुल्हो उपहार

झापा एक्सप्रेस , १३८९४१  पटक हेरिएको

झापा, ३० जेठ । झापाको कनकाई नगरपालिकाले धेरै कर तिर्ने नगरबासीलाई उपहार दिन थालेको छ ।

नगरपालिकाले नगरबासीलाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय चुल्हो प्रदान गर्न थालेको हो । एकमुष्ठ २७ सय रुपैयाँ भन्दा बढी कर तिर्ने करदातलाई एक वर्षको वारेन्टी भएको पाँच हजार पर्ने चुल्हो दिन थालेको छ ।

नगर प्रमुख राजेन्द्र पोखरेलले समयमै सबैभन्दा धेरै सम्पत्ति कर तिर्ने करदातालाई इन्डक्सन चुल्हो उपहार स्वरुप प्रदान गरिएको जानकारी दिनुभयो ।

पहिलो चरणमा नगरका नौ वटै वडाका छ सय ९७ जना उत्कृष्ट करदाता नगरबासीलाई इन्डक्सन चुल्हो प्रदान गरिने उहाँको भनाइ छ । सोही क्रममा आज वडा नं. १ बाट चुल्हो उपहार कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा नगरप्रमुख पोखरेल, वडाध्यक्ष सुशीलकुमार पोखरेल लगायतका जनप्रतिनिधले उनीहरुलाई इन्डक्सन चुल्हो प्रदान गर्नुभयो । कार्यक्रममा एक सय ६७ जनालाई चुल्हो प्रदान गरिएको थियो ।

क्रमशः उत्कृष्ट करदातालाई अन्य उपहार प्रदान गरिने नगरपालिकाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसले नगरबासीलाई समयमै वास्तविक कर तिर्ने प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।

वडा नं. १ का अध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र पोखरेल हुनुहुन्थ्यो । वडा सदस्य हरिकुमार राईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो ।

समयमै मापदण्ड अनुसारको कर तिर्ने करदातालाई अन्य यस्ता धेरै उपहार प्रदान गरिने नगरपालिकाका जिन्सी शाखा प्रमुख भोजराज आचार्यले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०६-१३ , समय : २०:५७:१६ , २ वर्ष अगाडि

error: Content is protected !!