अवैध लागूऔषधसहित पक्राउ

झापा एक्सप्रेस , ६०७३९  पटक हेरिएको

काठमाडौं-काठमाडौं महानगरपालिका-३ स्थित घरमा डेरा गरी बस्ने झापाको झापा गाउँपालिका-४ घर भएका २६ वर्षीय निरोज थापालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डेरा कोठामा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही कोठामा रहेका अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ९८ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय दिनेश भुजेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३प ३१३२ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०६-१० , समय : ०९:४३:३७ , १ वर्ष अगाडि