झापा एक्सप्रेस , २११८१ पटक हेरिएको
झापा । झापाको गौरादह ९ बैगुनधुरामा पशु चौपाया चोरीका घटनामा वृद्धी भएको छ । गएराती साबिक बैगुनधुरा ९ ग्वालमुुनीका रोहित खड्काको एउटा गाई चोरी भएको अस्थाई प्रहरी चौकी बैगुनधुराले जनाएको छ ।
राती करिब १ बजेको समयमा गोठमा बाँधेको अवस्थामा गाई चोरी भएको पिडितले बताएका छन । गएराती नै १२ बजेको समयमा दहगाउँका लोकमणी सापकोटाको गोठबाट बाच्छाबाच्छी सहित २ वटा दुहुना गाई ५ सय मिटरको दुरीमा धानखेतमा पुर्याएका बेला गाउँलेले होहल्ला गरेपछि चोर गाई छोडेर भागेका थिए । त्यस लगतै खड्काको गाई चोरी भएको स्थानियले बताएका छन । केही महिना अघि बैगुनधुराकै नगेन्द्र श्रेष्ठको गाई पनि चोरी भएको थियो ।
बैगुनधुराका स्थानियले चौपाय चोरीको घटना झेलेको यो पहिलो पटक होईन, यहाँका अधिकांश घरका घरपालुवा चौपाय हल गोरु, राँगा, गाई कुनै न कुनै बर्ष चोरिएको स्थानिय ध्रुव घिमिरेले बताउनुभयो । वि. सं २०४० साल भन्दा अघिदेखी नै बैगुनधुराका तल्लो टोलका पशुचौपाय चोरी हुँदै आएका छन । भारतसँगको सिमाना नजिकै भएका कारण पशु चोरी हुने गरेका हुन । चोरले रातको समयमा चोरी गरी सीमाना कटाउने गरेका स्थानियले बताए । केही बर्षअघिसम्म बैगुनधुरा बजारको नजिकै रहेको शसस्त्र प्रहरी बलको बेस क्याम्प हाल २ किलोमिटर दक्षिण सरेपछि यहाँका स्थानियले असुरक्षा महसुस गरेका छन । पशुचौपाय चोरीका घटना बढेपछि स्थानियले प्रहरीसँग सुरक्षा गस्ती बढाउन माग गरेका छन ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : २०:४०:०८ , २ वर्ष अगाडि