झापा एक्सप्रेस , १०७२८ पटक हेरिएको
भोजपुर, चखिया । प्रेस सेन्टर नेपाल कोशी प्रदेशको पहिलो साधारण सभाले १५ बुँदे घोषणा पत्र पारित गरेको छ । सेन्टरको गत शनिबार सम्पन्न साधारणसभा १५ बुँदे ‘भोजपुर चखिया घोषणा पत्र’ पारित गर्दै सम्पन्न भएको हो ।
साधारणसभाले आमसञ्चार विधेयक यथाशिघ्र कार्यान्वयनमा ल्याउनुपर्ने, कोशी नाम संसोधन गरी पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनुपर्ने, सञ्चार विरोधी कानून तत्काल खारेज गरिनुपर्ने लगायत रहेका छन् ।
प्रेस सेन्टर नेपाल, प्रदेश समितिको
भोजपुर चखिया घोषणा पत्र
१) प्रदेशसभाको पहिलो कार्यकालमा दर्ता भएर पनि पारित नभएको आमसञ्चार विधेयक तुरुन्त प्रदेशसभामा दर्ता गराएर पारित गराई नियमावली निर्माण गरेर यथाशिघ्र कार्यान्वयनमा ल्याउन यो साधारणसभा जोडदार माग गर्दछ ।
२) प्रचलित श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन यो साधारणसभा जोडदार माग गर्दछ ।
३) संघ, प्रदेश र पालिका तहमा निर्माण भएका सञ्चार विरोधी कानूनहरु तत्काल खारेज गर्न यो साधारणसभा जोडदार माग गर्दछ । साथै पत्रकारितामैत्री सञ्चार नीति र कानूनहरु निर्माण गर्दा सम्बद्ध सञ्चार संघ संस्थासँग समन्वय गर्न आग्रह गर्दछ ।
४) स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमहरुको अधिकार भएकोले अनिवार्य स्थानीय माध्यममा नै विज्ञापन उपलब्ध गराउन यो साधारणसभा जोडदार माग गर्दछ ।
५) पछाडि पारिएका वर्ग र समुदाय, गरिव, महिला, दलित, आदिवासी, जनजाति र अल्पसंख्यकहरुलाई पत्रकारिताको मूलधारमा ल्याउन क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै पेशामा प्राथमिकता दिन संघ, प्रदेश र पालिका सरकारसँग माग गर्दछ । साथै सञ्चारगृह, पत्रकार महासंघ तथा सम्बद्ध संघ–संगठनहरुलाई आग्रह गर्दछ ।
६) प्रदेश र जिल्लास्तरमा संघीयताको चाँडो आवश्यक संरचना निर्माण गरेर संघीयताको दिगो विकास र प्रबद्र्धनका लागि यो साधारणसभा जोडदार माग गर्दछ ।
७) द्वन्द्वपीडित, अशक्त, अपाङ्गता पत्रकार र उनीहरुको परिवारलाई उपचार र रोजगारसँगै राहत तथा क्षमता अभिवृद्धिमा विशेष प्राथमिकता दिन यो साधारणसभा जोडदार माग गर्दछ ।
८) सञ्चारमाध्यमलाई सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम समयानुकुल वृद्धि गर्दै समयमै सबै प्रकारका सञ्चारमाध्यमलाई उपलब्ध गराउन यो भेला जोडदार माग गर्दछ ।
९) प्रदेश १ मा संचालन भइरहेको स्वरोजगारमुखी सम्पूर्ण सञ्चारमाध्यमहरुलाई आत्मनिर्भर बनाउन सबै तहका सरकारसँग जोडदार माग गर्दछौं ।
१०) प्रदेश र पालिका तहमा पत्रकार सुरक्षा कोष स्थापना गरी सञ्चालनमा ल्याउन यो साधारणसभा जोडदार माग गर्दछ ।
११) प्रेस सेन्टर प्रदेश १ समितिका सबै जिल्ला तथा पालिका तहलाई सक्रिय बनाउन क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न यो साधरणसभा प्रतिबद्धता व्यक्त गर्दछ ।
१२) कोशी नाम संशोधनका लागि पहिचानवादी शक्तिहरुसँग तुरुन्त वार्ता गरी प्रदेशको नाम पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार र सबै राजनीतिक दलहरुसँग प्रेस सेन्टर नेपाल प्रदेशको यो साधारणसभा जोडदार माग गर्दछ ।
१३) प्रदेश सरकारलाई संविधानमा प्राप्त एकल र साझा अधिकार सूचीमा रहेका अधिकारहरु प्रदान गरी संघीयता कार्यान्वयनलाई दिगो रुपले प्रबद्र्धन गराउन यो साधारणसभा माग गर्दछ ।
१४) प्रदेश १ को ऐतिहासिक जिल्ला भोजपुरको रमणीय टेम्केमैयुङ गाउँपालिकाको चर्चित पर्यटकीय क्षेत्र चखियाको दिगो पर्यटन प्रबर्धनका लागि आवश्यक योजनासहित बजेट विनियोजन गरेर कार्यान्वयन गराउन तथा किराँत सभ्यतासँग जोडिएको मुन्धुम पदमार्गको विकास र प्रबर्धन गर्न तीनै तहका सरकारसँग यो साधारणसभा जोडदार माग गर्दछ ।
१५) भोजपुर जिल्लाको पर्यटकीय क्षेत्र चखियामा साधारणसभा आयोजना गरेर सहभागीता सहित भ्रमण अवलोकनको अवसरसहित न्यानो आतिथ्यता प्रदान गरेकोमा प्रेस सेन्टर प्रदेश १ समिति समन्वय गर्ने प्रेस सेन्टर भोजपुर जिल्ला शाखा, स्थानीयबासी सबैप्रति यो साधारणसभा धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछ ।
प्रकाशित मिति: २०२३-०४-११ , समय : १९:२८:२९ , २ वर्ष अगाडि