झापा एक्सप्रेस , ११०४६ पटक हेरिएको

सन्तोष शर्मा
झापा, ३ चैत । सरकारले मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिन माग गर्दै झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी झापाको अगुवाइमा झापाका १५ वटै पालिकाका कृषकहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रासायनिक मलको बोरा लगाएर ‘बोरा आन्दोलन’ गरेका हुन् ।
विभिन्न नारा लेखिएको मलको बोरा लगाएर विभिन्न नारा लेखिएको पम्पप्लेट र राष्ट्रिय झण्डा लिएर ¥याली निकालिएको थियो । सडक आवागमनमा अवरोध नहुने गरी सडक किनारबाट शान्तिपूर्ण आन्दोलन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेश खरेलले बताउनुभयो ।
“सरकारले किसानलाई मार पर्ने गरी निर्णय गरेको छ”, ¥याली पछि आयोजित कोणसभामा उहाँले भन्नुभयो, “सरकारले कृषि प्रधान मुलुकमा किसानमैत्री काम गर्न जरुरी छ ।” पार्टी भन्दा पनि किसानको पक्षमा आफूहरुले आवाउ उठाएकाले दलको नभई राष्ट्रिय झण्डा लिएर आन्दोलनमा उत्रिएको उहाँको भनाइ छ । सबै किसानहरुलाई एकजुट भई आन्दोलनमा सहभागी हुन उहाँले आह्वान समेत गर्नुभयो ।
कोणसभामा अर्का वक्ता शम्भु सुस्केराले मलमा ७८ प्रतिशत मूल्य बृद्धि हुँदा किसान मर्कामा परेको बताउनुभयो । “साढे चौध रुपैयाँमा पाइने मल २५ रुपैयाँमा किसानले किन्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “किसान मरिरहेका छन्, उपभोक्ता ठगिइरहेका छन् र बिचौलिया मोटाइरहेको अवस्थाको अन्त्य सरकारले गर्न जरुरी छ ।”
त्यस्तै, नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा मलमा अनुदान कटौती गरिँदा नेपाली किसान थप मारमा रहेको सुरेशकुमार पोखरेलले बताउनुभयो । सरकारले किसान भन्दा पनि बिचौलियालाई पोस्ने गरी काम गरिरहेको उहाँको आरोप छ । सरकारको निर्णयले नेपाली जनताले विदेशी वस्तु उपभोग गर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ ।
मल नपाउने समस्या भोगिरहेका बेला मलमा अनुदान कटौती गरिँदा किसान दोहोरो मारमा परेको अर्का वक्ता प्रकाश पाठकले बताउनुभयो । “किसानको पसिना र आँशु बगिररहेको छ”, उहाँले भन्नुभयो, “सरकारले यो विषयमा गम्भीर हुनुपर्छ ।”
अगुवा कृषक केशव बरालले सरकारले किसानमारा नीति अंगिकार गरेको आरोप लगाउँदै कृषि क्रान्ति आवश्यक रहेको बताउनुभयो । “किसान मास्ने र बिचौलिया पोस्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सबै किसान एकजुट भएर आन्दोलन गर्नुको विकल्प छैन ।”
‘किसानको आँशुमा पौडी नखेल’, ‘कृषिमा अनुदान बृद्धि गर’, ‘मलको अनुदान कटौतीको फिर्ता गर’, ‘किसानको उत्पादनको उचित मूल्य कायम गर’ लगायतका नारासहित नाराबजी गरिएको थियो ।
प्रकाशित मिति: २०२३-०३-१७ , समय : २१:२१:५८ , २ वर्ष अगाडि