कनकाईमा जारी महिला फुटबलको उपाधीकालागि आज कनकाई र खुदुनाबारी भिड्दै

झापा एक्सप्रेस , १६२४१  पटक हेरिएको

कनकाई, २४ फागुन ÷ झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधीकालागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारी विच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताको उपाधीकालागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले निर्णायक प्रतिस्पर्धाकालागि यात्रा तय गरेका हुन् ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगर खेलकुद विकास समिति सह—आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको छ ।

प्रतियोगिताको सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भद्रपुरलाई पाखा लगाउदै जुनतारा फाइनलमा प्रवेश गरेको हो । त्यस अघि नै कनकाईले पारिजात महिला फुटबल क्लव सालबारीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको आयोजक समितिाका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते सम्पन्न हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको कनकाई खेलकुद प्रतिष्ठानका सल्लाहकार पत्रकार रामप्रसाद निरौलाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार , दोस्रो हुनेले नगद ५० हजार पुरस्कार साथै दुबै टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सल्लाहकार निरौलाले बताए ।

प्रतियोगितामा हरेक दिनको प्लेयर अफ द म्याचको पुरस्कार नगद २ हजार कनकाई —३ निवासी उद्यमी,व्यवसायी बिरेन्द्रप्रकाश मैनालीबाट प्राप्त भएको बताइएको छ । प्रतियोगिताको समापनसँगै विधागत तर्फ उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोल कर्ता र प्लेयर अफ द सिरिज लाई जनही नगद ३ हजार प्रदान गरिने प्रतिष्ठानकी सचिव मान्ता खरेलले वताइन् ।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : ०९:१५:०९ , २ वर्ष अगाडि