भद्रपुर झापा गोल्डकप-मछिन्द्र क्लब काठमाण्डौ गोल्डकपको सेमिफाइनलमा

झापा एक्सप्रेस , ३१०१६  पटक हेरिएको

कनकाई-झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकप प्रतियोगितामा मछिन्द्र क्लब काठमाण्डौ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले गोल गर्नुभयो ।खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । अनन्तले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो ।

यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्काएको थियो । मछिन्द्रले खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठको लामो फ्रिकिक सोझै गोलमा परिणत हुदै खेल बरावरीमा पुगेको थियो ।बराबरी गोलपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै खेलको ८६ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए । खेलको ८६ औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको गोल अन्तर दोब्बर बनाउनुभयो ।

मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित हुदै नगद २० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका महासचिव जिवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०२-२२ , समय : १९:३५:२० , २ वर्ष अगाडि