झापा एक्सप्रेस , ५६३७० पटक हेरिएको
नेपाल भारत सिमास्थित झापा गाउँपालिका ४ मा कृषकको घरमा बाधेको रागा चोरी गर्ने एक भारतीयलाई एक हल (दुई) वटा रागा सहित एक प्रहरीले पक्राउ गरेको छ ।
गत पुस २६ गते रातीको समयमा झापा गाउँपालिका ४ का कृषक अमानो मियाको घरमा बाधेको रागा भारतीयहरुले चोरी गरेर लगेका थिए । प्रहरीले रागा चोरी भएको घटनापछि नेपालको सशस्त्र प्रहरी, जनपद प्रहरी र जनप्रतिनिधिहरुको टोलीले रागा खोजी गर्दा भारत विहार राज्य किसनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत बस्ने २२ बर्षिय मोहमद नाजिरलाई चोरी भएको रागा सहित पक्राउ गरेको हो । रागा चोरीमा संग्लन अझै तीन भारतीय नागरिक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।
चोरी भएको राँगा प्रहरी चौकी टाघनडुब्बाले खोजतलास गर्ने क्रममा नेपाल भारतको दशगजा सीमा क्षेत्र जोडिएको धनतोला ग्राम पञ्चायत निवासी मोहम्मद नाजिर, सोही ठाउँका अन्दाजी २० वर्षीय आजाहार महमद, अन्दाजी १९ वर्षीय ईजाहुल हक र १९ वर्षीय गोदा भन्ने (नाम र थर नखुलेको) चार जनाले लगेको भनी खुलेको थियो ।
घटनापछि नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिले भारतीय प्रहरीसँग समन्वय गरी नाजिरलाई चोरिएका दुई वटा राँगासहित पक्राउ गर्न प्रहरी सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी कार्यालय झापामा राखेर चोरी शीर्षकमा मुद्दा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न अन्य तीन जनाको भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । नेपाल भारत सिमा जोडिएको यस क्षेत्रमा यसअघि पनि पशु चौपाय चोरीका घटनाबाट कृषक पिडित हुने गरेका थिए । सिमा क्षेत्रमा प्रहरीको सक्रियता वढेसगै चौपाय चोरीका घटनामा कमि आएको थियो ।
प्रकाशित मिति: २०२३-०१-१४ , समय : १७:४८:४४ , २ वर्ष अगाडि