कनकाईका कर्मचारीले मनाए टोपी दिवस

झापा एक्सप्रेस , १३५५१  पटक हेरिएको

सुरुङ्गा – झापाको कनकाई नगरपालिकाका कर्मचारीले आइतवार (आज) एक कार्यक्रमको आयोजना गरि नेपाली टोपी दिवस मनाएका छन् ।अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिनलाई स्वागत तथा नेपाली टोपी दिवसको अवसर पारेर कनकाई नगर कर्मचारी परिवारले नेपाली टोपी दिवस मनाएका हुन् ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन शुरु गरिएको कनकाई नगर कर्मचारी परिवारले जनाएको छ।

जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको सम्झना स्वरुप कनकाई नगर कर्मचारीहरुको तर्फबाट पनि यो दिवस मनाईएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए। नगरका सम्पूर्ण कर्मचारीहरुले नेपालीहरुको पहिचान नै ढाका टोपी हो भन्ने विश्व माझ चिनाउन र नेपाली टोपीको महत्त्व नेपालमा मात्र नभई विश्व माझ नै कायम राख्न कर्मचारीहरुले बिहान अफिस सुरु हुनु भन्दा १ घन्टा अगाडि नै सबै कार्यलयमा उपस्थित भई नेपाली टोपीको महत्त्वको बारेमा चर्चा गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने, योजना शाखाका प्रमुख विवेक भण्डारी, शिक्षा शाखाका प्रमुख पिताम्वर गौतम, स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङ्गाल, नारायणप्रसाद अधिकारी, कृषि शाखाका प्रमुख यदुनाथ उप्रेती, लेखा शाखा प्रमुख दुर्गा खड्का, कर्मचारी विजय पाठक, जमुना कटुवाल, मनिता राई संगीता पौडेल लगायतले टोपीको महत्वको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

ढाका टोपी धेरै प्रकारका टोपीहरू मध्येको एक नेपाली टोपी हो । सन् २०१३ नोभेम्बर २६ मा सामाजिक सञ्जाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस मनाउन शुरु गरिएको थियो।

प्रकाशित मिति: २०२३-०१-०१ , समय : २०:०३:५५ , २ वर्ष अगाडि

error: Content is protected !!