चुलाचुली गाउँपालिकाद्वारा जनता माविलाई स्कुल बस हस्तान्तरण

झापा एक्सप्रेस , २१२६४  पटक हेरिएको

इलामको चुलाचुली गाउँपालिकाले वडा नम्बर- २ स्थित जनता माध्यमिक विद्यालयलाई एउटा स्कुल बस उपलब्ध गराएको छ । गाउँपालिकाले करिब ४२ लाख रुपैयाँ मूल्य बराबरको विद्यार्थी बोक्ने बस उपलब्ध गराएको हो ।

विद्यालयमा आज आयोजित औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्कुल बसको चाबी हस्तान्तरण गर्दै उपलब्ध सेवा सुविधाको अधिकतम उपयोग गर्न गाउँपालिकाबासीलाई आग्रह गरेका छन् । अध्यक्ष केरुङले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारहरूको विकाससँगै शैक्षिक गुणस्तरलाई माथि उकास्न सबै खाले उपायहरू अवलम्बन गर्न शिक्षक, कर्मचारी र समुदायलाई आव्हान गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपिन योङयाको सभापतित्वमा भएको स्कुल बस हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी लावती, शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्र, गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीपचन्द्र राई लगायत वडाध्यक्षहरूको उपस्थिति रहेको थियो । जनता माविमा अहिले करिब ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधान अध्यापक लक्ष्मेस्वर प्रसाद बनमरीयाले जानकारी दिए ।

इलामको दुर्गम क्षेत्रका रुपमा चिनिएको चुलाचुली भित्रको सुगम क्षेत्रका रुपमा रहेको बाह्रगोठेमा अवस्थित जनता माविमा अहिले सिटीइभिटीले प्राविधिक विषयको समेत अध्यापन गराउँदै आएको उनले बताए। नर्सरीदेखि कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउँदै आएको विद्यालयको भौतिक पूर्वाधारको विकास समेत सन्तोषजनक रुपमा अघि बढेको छ ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : १९:४९:४१ , २ वर्ष अगाडि