उर्लाबारीमा चासोक तङ्नामको रौनक

झापा एक्सप्रेस , १९००८४  पटक हेरिएको

तेजन खड्का
उर्लाबारी ।  मोरङको उर्लाबारी-९ आम्बारीमा लिम्बू जातिको महान् चाड चासोक तङ्नाम धुमधाम मनाइएको छ । किरात याक्थुम चुम्लुङ उर्लाबारीको आयोजनामा सुरु भएको चासोक तङ्नाम उत्सवको उद्घाटन सभासद तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बुले गरे । चासोक तङनाममा लिम्बू जाति केलाङ र धान नाचमा व्यस्त छन् ।
बिभिन्न जातजातिको झाकि प्रस्तुत गरिएको थियो।
आजबाट सो पर्बको अबसरमा तिन सम्म सास्कृतिक कार्यक्रम सहित मेलाको आयोजना गरिएको छ ।

प्रकृतिपूजक लिम्बू जाति मंसिरे पूर्णिमादेखि उधौली पर्वलाई महान् चाडका रूपमा धूमधामका साथ मनाउँछन् । लिम्बू बस्तीमा ढोल र झ्याम्टाको तालमा यति बेला केलाङ (च्याबु्रङ) नाच घन्किरहेको देख्न पाइन्छ ।

चासोक तङ्नामका अवसरमा हातमा झ्याम्टा, काँधमा ढोल बोकेर बजाउँदै कोदोको रक्सी, तोङ्बा र विभिन्न लिम्बू परिकार खाँदै लिम्बूहरू रमाइरहेका छन् । बारीभरि पैयुँ फुलेको छ । यही समयलाई किराँतीले उधौली याम (दक्षिणायन) सुरु भएको संकेतका रूपमा चासोक चाड मनाउँछन् ।

उभौलीयाम सुरु भएसँगै लिम्बूले मंसिर पूर्णिमाको दुई दिन अघिदेखि घरघरमा र चुम्लुङ हिममा जम्मा भएर ‘चासोक तङ्नाम’ मनाउने चलन रहेको किरात याक्थुम चुम्लुङकि उर्लाबारीकि अध्यक्ष बानु सुब्बाले बताईन। किराँत लिम्बूले नयाँ पाकेको अन्नबाली तागेरा निङ्वाफू माङलाई चढाएरमात्र खाने चलन छ ।

नेपाली भाषामा ‘चासोक’को शाब्दिक अर्थ न्वागी र ‘तङ्नाम’को अर्थ चाडपर्व रहेको उर्लाबारी-९ का वडा सदस्य प्रकाश कन्दङ्वाले बताए । लिम्बूहरूले चासोकको दिन चुम्लुङ हिममा भेला भएर आफ्नो खेतमा पाकेको नयाँ अन्न धान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफु माङलाई चढाएर घरघरमा पूजा गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खाने प्रचलन रहेको उनले बताए ।

विस्तारै लोप हुन लागेको लिम्बूहरूको याराक (धान नाच), केलाङ (च्याबु्रङ नाच), पकलुम लेप्मा (छेलो हान्ने), थाक थाक्मा (तान बुन्ने), ली आप्मा (गुलेली हान्ने) संस्कृतिलाई जोगाउन लिम्बूहरूको नयाँ पुस्ता लागिपरेको छ । लिम्बू समुदायहरू एकै ठाउँमा भेला भएर च्याब्रुङको तालमा शुभकामना साटिरहेका छन् ।

साइनो नलाग्ने लिम्बू युवकयुवती धान नाच्न तँछाडमछाड गरिरहेका छन् । धान नाचसँगै याराक्मा (धान नाच्दा गाइने गीत) गाउँदै धान नाचिरहेका छन् । लिम्बू युवकयुवती हाक्पारे साम्लो, ख्याली दोहोरी गाउँदै मायापिरती पनि गाँसिरहेका छन् । धान नाचेकै बेला युवकयुवतीबीच मन पराएर विवाहसमेत हुने गरेको छ भने धान नाच्दा केटाले केटी मन पराए केटीलाई पक्रेर लाने लिम्बू परम्परा पनि छ ।

चासोक तङ्नाममा फेदाङ्मा (लिम्बू जातिको पुजारी)को सहारामा युमा साम्माङ, थेवा सम्माङ, मिसेक, चखोवा, फाक्मुरा, थुङ्दाङ्वालगायत नौ प्रकारका देवीदेवताको पूजा गरिन्छ । यो दिन लिम्बूहरूले आफ्ना छोराछोरीलाई संस्कार र संस्कृतिका बारेमा जानकारी गराउने गरेका छन।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : १९:२८:२२ , १ वर्ष अगाडि