झापा एक्सप्रेस , १८५४४ पटक हेरिएको

कनकाई- बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यो वर्षको छठ पर्व विधिवत रुपमा समापन भएको छ ।
जलासय किनारमा पूजा सामग्रीसहित ब्रतालुले आदिदेव सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न भएको हो । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । छठ पर्वकै अवसरमा झापाको कनकाई नगरपालिकास्थित कनकाई नदीको पुर्वी किनारमा आयोजित छठ पूजा विशेष कार्यक्रममा एकजना पत्रकारसहित जग्गादाताहरु सम्मानित भएका छन् ।
कनकाई छठ सेवा समाजले छठ पूजाको उद्घाटन कार्यक्रमको अवसर पारेर पत्रकार रामप्रसाद निरौलासहित जग्गादाताहरुलाई सम्मान गरेको हो । बिगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार निरौलालाई संचारको माध्यमबाट समाज रुपान्तरणमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरेको बताइएको छ । जनसंसद दैनिक,कञ्चनजंघा एफएम, सूर्योदय टेलिभिजन, राष्ट्रिय समाचार समिति(रासस) लगायतका संचार माध्यमको अनुभव बटुलिसकेका पत्रकार निरौला कनकाई नगरबाट प्रकाशित हुँदै आएको कनकाई खबर डटकम अनलाइनसहितको कनकाई खबर साप्ताहिकका सम्पादक तथा प्रकाशक हुन् ।
सम्मानित ब्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, पूर्व मन्त्री एवं निवर्तमान प्रदेश सभा सदस्य हीराकुमार थापा लगायतले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा कनकाई छठ सेवा समाजलाई एकधुर जग्गा प्रदान गर्ने जग्गा दाता रिन्कु तथा राजकिशोर चौधरी, तारानाथ प्रसाईँ साथै आधा धुर जग्गा प्रदान गर्ने बसन्त शाह रहेका छन् ।
त्यसैगरी जेष्ठ नागरिकको रुपमा महेश्वरप्रसाद गुप्ता, सहयोगी तथा अग्रजका रुपमा जगतनारायण मण्डल, शिक्षा तथा राष्ट्रिय सेवकका रुपमा शम्भु शाह, समाजसेवीका रुपमा मिनकुमार प्रधान, कार्यसमिति सक्रिय माहानुभावका रुपमा किरण कारक, दिनेश ठाकुर, अशोक शाह, रोहित मण्डल रहेका छन् । त्यस्तै संस्थापक तथा पूर्व अध्यक्षका रुपमा उपेन्द्र प्रधान, चन्द्रशेखर शाह, किसनकुमार सोनी, पवनकुमार शाह र निवर्तमान अध्यक्ष सुरेन्द्र प्रधानलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा सल्लाहकार तथा लेखा समितिका पदाधिकारीहरु, महिला तथा युवा समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको समाजका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले जानकारी दिए ।
छठपुजाका लागि कनकाई माइको पुर्वी किनारमा ७० वटा घाट निर्माण भएको थियो भने प्रत्येक घाटको सुरक्षाका लागि स्वयंसेवक परिचालन गरीएको थियो । सुरक्षा व्यवस्थालाई मजवुत वनाउँनका लागि नेपाल प्रहरी,ट्राफिक प्रहरी र शसस्त्र प्रहरी परिचालन गरीएको आयोजक समितिका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले वताएका छन् ।सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको कनकाई छठ सेवा समाजले छठ पर्वलाई सवै जातजातीहरुको साझा पर्वका रुपमा पहिचान दिने उद्येश्यले व्यवस्थापन गरेको बताइएको छ । छठपूजाका अवसरमा अघिल्लो दिन कनकाई घाट सरसफाई समेत गरेको छठ समाजले औपचारिक कार्यक्रम अघि विभिन्न जातजाती, धर्म सम्प्रदायको सहभागितामा सुरुङ्गा बजार परिक्रमा गरेको थियो ।
विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधी, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा रात्री कालिन जागरम सहित विशेष साँगितीक कार्यक्रम संचालन गरीएको कनकाई छठसेवा समाजका साँस्कृतिक संयोजक अमन गुप्ताले जानकारी दिए ।
प्रकाशित मिति: २०२२-१०-३१ , समय : २०:०८:४४ , २ वर्ष अगाडि