झापा एक्सप्रेस , १८२६६ पटक हेरिएको
झापाको दक्षिणी भेग झापाको झापा गाउँपालिका हुलाकी सडक खण्ड अन्तरगत बिरिंग खोलामा पुल नबन्दा स्थानीयले जोखिमको यात्रा गर्दै आएका छन् ।
झापा-५ को पन्थापाडा र बाह्रदशीको राजगढ जोड्ने यस पुल निर्माण सम्पन्न नहुँदा पैसा तिरेरै भएपनि यात्रुहरु जोखिमको यात्रा गर्न बाध्य छन ।बर्खामा डुङ्गामा यात्रा गर्दा डुङ्गा पल्टेर केही समय अघि मात्र यहाँ तिन मोटरसाइकल खोलामा डुबेको एक स्थानीयले बताए। विरिङ्ग खोलामा ४ बर्षमा सक्ने भनेर थालिएको पुल ११ बर्ष वितिसक्दासम्म निर्माण सम्पन्न भएको छैन ।
लामा मैनाचुली जेभीले २०६८ वैशाखमा १५ करोड ५० लाख मुल्यमा ठेक्का लिएको थियो । यसरी बर्षौं वितिसक्दा समेत काम सम्पन्न नभएकोमा स्थानीय आक्रोसित बनेका छन् । ३ सय १९ मिटर लम्बाईको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नुपर्ने थियो । पटक पटक म्याद थप गर्दा समेत पुल निर्माण सम्पन्न भएको छैन ।
पुल नजिक हुलाकी सडकको काम धमाधम हुन थालेको छ । तर पुल नबन्दा मानिसले बर्षामा डुङ्गा र हिउँदमा बाँसको पुलको जोखिम यात्रा गर्दा समेत हिड्दा पैसा तिर्नु पर्ने बाध्यता हट्न सकेको छैन । लामो समय पछि गत बर्ष देखी काम थालिएको पुलमा बिम लगाइसकिएको भए पनि ढलान गर्न बाँकी रहेको छ ।
झापाको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने ढेड दर्जन हाराहारीका पुल मध्ये धेरैजसो निर्माण भईसकेका छन् । तर मुख्य नदि र खोलामा झण्डै एक दशक अघि देखि बनाउन थालिएको कन्काई र विरिङ्गको पुल समयमा नवन्ने हो भने हुलाकी सडक संचालनमा आउन नसक्ने स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: २०२२-०९-२७ , समय : १९:५०:४७ , २ वर्ष अगाडि