देश बिगार्ने काममा तपाई पनि सहभागी हुनुहुन्छ : राजेन्द्र लिङ्देन

झापा एक्सप्रेस , १९७२५  पटक हेरिएको

फाइल तस्बिर

इलाम-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका कारण देश बिग्रिएको आरोप लगाएका छन् । नेता मात्र चोर नभएको तिनै नेतालाई भोट हाल्ने जनताका कारण देश बिग्रिएको उनले आरोप लगाएका हुन् ।

इलाममा भएको बृहत पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेताहरुलाई मात्र चोर भनेर हुन्छ, यो काम बिगार्न तपाई सहभागी भइराख्ने’। यो देश बिगार्ने काममा तपाई पनि सहभागी हुनुहुन्छ भन्ने कुरामा तपाईले बुझ्नुपर्छ ।’

परम्परागत रुपमा नै पुर्खाले जुन पार्टीलाई भोट लगाएको अर्काे पुस्ताले पनि सोही पार्टीमा भोट हाल्ने परम्पराले पनि देश विकास हुन नसकेको उनको भनाई छ । लिङ्देनले देश समृद्धि र विकासतर्फ उन्मुख गराउन पार्टी भन्दा पनि उम्मेदवारको नीति, सिद्धान्तलाई हेरेर भोट हाल्न उनले आग्रह गरे ।

हाल देशका ठूला भनाउँदा कांग्रेस र कम्युनिष्ट पार्टीका कारण देशमा भ्रष्टचार र विकृति मौलाइएकाले जनताले दु:ख पाएको बताउँदै लिङ्देनले व्यवस्थामा परिवर्तन र सुधारका लागि आगामी मंसिर ४ मा विचार गर्न आग्रह गरे ।

इलामका जनताले जिताएका नेता प्रधानमन्त्री, मन्त्री र उच्च ओहदामा पुग्दा पनि इलाममा विकास नभएको भन्दै उनले निकै विचार गरेर आफ्नो मत प्रयोग गर्न जनतालाई आग्रह गरे ।

अब पनि कांग्रेस कम्युनिष्टले मत पाउनु भनेको आफू मात्र नभएर आउने पुस्तासमेत पछि पर्ने काम हुने भन्दै हलो चिन्हमा मतदान गर्न उनको आग्रह छ । भ्रष्टाचार गर्नु भनेको असामान्य विषय भएको भन्दै उनले यसलाई सामान्य रुपमा नलिन जनतालाई आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले हाल कांग्रेस र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आफ्ना नेताहरुले आफूसँग केही गर्न नसकेको गुनासो गर्ने गरेको भएपनि भोट परम्परागत रुपमा नै हालेका कारण केही दलमात्र अगाडि बढेको धारणा राखे ।

उनले देशलाई समृद्धिको बाटोमा लैजाने भिजन आफूसँग रहेको बताउँदै पछिल्लो समय धेरै युवाहरु आफ्नो पार्टीमा गोलबद्ध हुने क्रम बढेको बताए ।

प्रकाशित मिति: २०२२-०९-१५ , समय : २०:०१:३८ , २ वर्ष अगाडि