सुरुङ्गामा व्यवसायीमाथि घरधनीको ‘अत्याचार’ : व्यवसायीको हिमायति निकाय कनकाई उवासंघ मुकदर्शन, नियमनकारी निकाय किन चुप ?

सन्तोष शर्मा , ४१९४३  पटक हेरिएको

बिर्तामोड। झापाको सुरुङ्गा बजारका एक व्यवसायीले घरधनीले अन्याय गरेको बताएका छन् ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी उनले न्यायका लागि सबैसँग आग्रह गरेका छन् । १० वर्षका लागि घरभाडा सम्झौता गरेर रुपक र बेचन मण्डलले कनकाई नगरपालिका–३ सुरुङ्गा बजारमा रहेको रुद्रप्रसाद ढकालको घरमा ओभी सुरुङ्गा सपिङ कम्प्लेक्स सञ्चालन गरेका हुन् । तर, घरधनीले पटक–पटक पसलको चाबी खोसेर दुःख दिने गरेको उनीहरुको भनाइ ।

‘दुई महिनाको भाडा दिन बाँकी थियो’, सञ्चालक मण्डलले भने, ‘घरधनीले एक्कासी पसलका कर्मचारीसँग चाबी खोसेर लगे, माग्न जाँदा दिएनन् ।’ व्यापारको सिलसिलमा आर्थिक समस्याका कारण भाडा तिर्न गाह्रो भएको उनको भनाइ छ ।

गत साउन २१ गतेदेखि पसलको चाबी लगेपछि हालसम्म व्यवसाय सञ्चालन गर्न नपाएको उनीहरुको भनाइ छ । स्थानीय सरकार, प्रहरी, प्रशासन, कनकाई उद्योग बाणिज्य संघ, वडा कार्यालय र स्थानीय गन्यमान्य सबैलाई गुहार माग्दा पनि समस्याको समाधान नभएको उनीहरुको भनाइ छ ।

‘एकले अर्कोलाई देखाउने र अर्को फेरी अर्कोलाई देखाउँदै हामीलाई चारैतिरबाट पेल्ने खोजिएको छ’, उनले भने, ‘हामी धेरै अन्यायमा पर्यौं, कहीँ कतैबाट सहयोग पाइएन, उल्टै धम्याएर पेल्ने काम भइरहेको छ ।’

‘कोरोना कारण हामीले धेरै आर्थिक क्षति व्यहोर्नु पर्यो, तर त्यो भन्दा ठूलो क्षति घरधनीले सम्झौता विपरीतको कार्य गरिदिँदा हामी दोहोरो मारमा पर्न गएका छौं’, उनले भने ।

प्रतिमहिना ४८ हजार भाडा बुझाउने गरी २०७६ साल असार ३१ गते १० वर्षका लागी घर भाडा लिएर व्यवसाय शुरु गरिएको उनीहरुको भनाइ छ । ‘व्यवसाय शुरु गर्नुअघि हामीले घरधनी रुद्रप्रसाद ढकालसँग सम्झौता समेत गरेका छौं’, उनले भने ।

साढेतीन करोड रुपैयाँ भन्दा बढीको लगानीमा आफूहरुले व्यवसाय सञ्चालन गरेको उनीहरुको भनाइ छ । बैंक र सहकारी संस्थामार्फत् आफूहरुले ऋण लिएर व्यवसाय थालेको उनीहरुले बताए ।

घरको भाडा बुझाउँदा प्रत्येक महिनाको थप ३७ हजार रूपैयाँका दरले हुन आउने धरौटी वापत रू ११ लाख ९२ हजार रुपैयाँ घर धनीसँग रहँदारहँदै गत साउन २१ गते बिहान ७ बजेको समयमा डिपार्टमेन्ट स्टोर खोल्न लाग्दा घरधनी रुद्रप्रसाद ढकाल र ओम प्रकाश ढकालले चावी खोसेर लगेको पीडितहरुको भनाइ छ ।

‘धरौटी रकम हामीले एकै पटक दिन नसकेपछि हामीले महिनैपिच्छे भाडा र थप रकम धरौट भनेर बुझाएका छौं’, उनीहरुले भने, ‘तर, अहिले मासिक भाडा ८५ हजार हो भनेर बलजफ्ती गर्न खोजिरहेका छन् ।’

सटरभित्रको कार्यालयमा विभिन्न बैंकको सही सहितको चेक समेत रहेको उनीहरुले बताएका छन् । तर, यसैबीचमा एउटा चेक बाउन्स भएको भन्दै एक्सेल बैंकबाट जानकारी आएइको समेत उनीहरुको भनाइ छ । सँगै इलाका प्रहरी कार्यालय सुरुङ्गामा छ महिना अगाडि नै पसल सञ्चालक बेपत्ता भएको भन्दै घरधनीले निवेदन समेत हालेको जानकारीमा आएको उनीहरुले बताए ।

‘यदि आफूहरुलाई पसल सञ्चालन गर्न दिने वा आफैँ सञ्चाल गर्ने भए आफूहरुको लगानी यकिन मूल्यांकन गरी पैसा दिनभन्दा पनि भएन’, पीडित युवाहरुको भनाइ छ, ‘हामीलाई न्याय निसाफ दिने कुनै निकाय छैन ?’

पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा लेखिएको छ– ‘डिपार्टमेन्ट स्टोर समेत कब्जा गर्दै डिपार्टमेन्ट स्टोर भित्र रहेको नगद अठार लाख तथा खुजुरा साठी हजार त्यस्तै कम्पनीको नामबाट र व्यक्तिगत सही छाप भएका विभिन्न बैंकहरुका चेक तथा खाली चेक र सही भएका चेकहरु अनि विभिन्न बील भरपाई गरी तीन करोड पचास लाख भन्दा बढीको डिपार्टमेन्ट स्टोर भित्र रहेको सामानहरु समेत कब्जा गरेकाले गुण्डागर्दी शैलीमा भएको यस्तो हर्कतको निन्दा र भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको समेत माग गर्दछौं ।’

‘घरधनीबाट क्षतिपूर्ति भराई पाउन र आफू अन्यायमा परेकाले न्यायका लागी पहल गरिदिन सम्पूर्ण सञ्चार जगत, नागरिक समुदाय, आम उद्योगी व्यवसायी र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं, साथै हाम्रो व्यसायिक सुरक्षा तथा जीउ ज्यान नै जोखिममा परेकाले सुरक्षा प्रबन्ध मिलाई दिन हुन प्रहरी प्रशासन समक्ष अनुरोध समेत गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यता, एक वर्षदेखि आफूलाई डिपार्टमेन्ट सञ्चालकहरुले भाडा नतिरेको घरधनी रुद्रप्रसाद ढकालले बताए । ‘धेरै प्रयास गर्दा पनि सम्पर्क नआएपछि बाध्य भएर पसलको चाबी लिएका हौं’, उनले भने, ‘हाम्रो पनि समस्या हुन्छ ।’ उनले सहमति आएर कुरा गरे केही महिनाको छुट दिने समेत बताए ।

घर बहाल सम्झौताका विषयमा उनले मासिक भाडा ८५ हजार नै भएको दाबी गरे । भने, ‘कर तिर्न सहज होस् भनेर कम भाडाको सम्झौता गरेका हौं, अरुतिर पनि यस्तै हुन्छ ।’

बन्दमुक्त नगरको पहिचान बनाएको कनकाईमा यस समस्याको समाधान हुन जरुरी छ । घरधनीको पेलान हो कि व्यवसायीको बदमासी ? नगरपालिका, कनकाई उद्योग बाणिज्य संघ, वडा कार्यालय, स्थानीय ठूलाबडाहरु, प्रहरी प्रशासनले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न जरुरी छ । कनकाई न्याय मरेको नगरपालिका नबनोस् । व्यापारी–व्यवसायीको हिमायती र मसिहा कहलाउन रुचाउने कनकाई उद्योग बाणिज्य संघको पनि ध्यान जाओस् ।

प्रकाशित मिति: २०२२-०९-१४ , समय : १९:००:३७ , २ वर्ष अगाडि