न्युज कारखाना , ७९८० पटक हेरिएको
काठमाडौं-एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन (स्मार्टफोन) नेपाल भित्रिएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो ।
भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात गरेको छ ।
सो मूल्यमा नेपालमा १ लाख ७६ हजार २४९ वटा मोबाइल सेट नेपालमा भित्रिएको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को साउनमा नेपालले विभिन्न देशबाट ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजार रुपैयाँमा ६ लाख ६७ हजार ५१८ वटा मोबाइल सेट आयात गरेको थियो ।
नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीनबाट आउने गरेको छ । गत साउनमा मात्र चीनबाट १ अर्ब ९८ करोड २० लाख रुपैयाँको मोबाइल फोन नेपालमा भित्रिएको छ ।
चीनपछि भारतबाट नेपालमा ठूलो मूल्यका मोबाइल सेट आउने गरेको छ । गत साउनमा भारतबाट नेपालले ५० करोड २६ लाख १२ हजार रुपैयाँको मोबाइल सेट आयात गरेको छ ।
प्रकाशित मिति: २०२२-०८-२५ , समय : २०:०८:०० , २ वर्ष अगाडि