मेची प्रादेशिक अस्पतालको सेवा सुधारका लागी ज्ञापनपत्र

झापा एक्सप्रेस , १६१०६  पटक हेरिएको

भद्रपुर । मेची प्रादेशिक अस्पतालको सुधारका लागि ज्ञापन पत्र बुझाइएको छ ।

मेची प्रादेशिक अस्पताल सुधार समितिले आज अस्पताल विकास समितिलाई ३५ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको हो । सुधार समितिका अध्यक्ष दीपक तिम्सिना, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, नेकपा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का अध्यक्ष डिल्ली घिमिरे हिक्मत लगायतको टोलीले अस्पताल विकास समितिका अध्यक्ष विश्व बराल र मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीलाई उक्त ज्ञापन पत्र बुझाएको छ ।
अस्पतालका विविध क्षेत्रमा सुधार गर्दै स्वास्थ सेवालाई चुस्त–दुरुस्त र नियमित बनाउने उद्देश्यले ज्ञापन पत्र बुझाएको समितिले जनाएको छ ।

‘मेची अञ्चलकै सबैभन्दा पुरानो मेची प्रादेशिक अस्पतालले आम जनसमुदायलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको सर्वविदितै छ । मेची प्रादेशिक अस्पताल भद्रपुरको मात्रै नभएर आम झापा तथा मेची अञ्चलकै गौरव र निम्न आय भएका आममानिसको स्वास्थ सेवा लिने निर्विकल्प स्वास्थ्य संस्था पनि हो’, ज्ञापन पत्रमा भनिएको छ, ‘स्वास्थजस्तो संवेदनशील सेवा दिइरहेको उक्त अस्पताल विगत लामो समयदेखि विविध कारण अस्तब्यस्त मात्रै छैन, अस्पताल विकास समितिको हेलचेक्र्याइँँ तथा चिकित्सक र कर्मचारीको लापरबाहीले आममानिस स्वास्थ सेवाबाट नै विमुख हुनुपर्ने दुःखद् अवस्था उत्पन्न भइरहेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष विश्व बरालले अस्पतालको सुधारका लागि केही कामको थालनी गरिएको र केही थाल्न लागिएको बताउनुभयो । सुधार समितिले स्वास्थ्य मन्त्रालय, प्रदेश नं. १, जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकालाई बोधार्थ समेत दिएको भने आफ्ना २१ माग पूरा नभए कडा संघर्षका कार्यक्रम ल्याउने जनाएको छ ।

यस्ता छन् सुधार समितिका माग

१. मेची प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्न महत्वपूर्ण पहल थालियोस् ।
२. NICU को व्यवस्था नहुँदा नवजात शिशुको उपचारमा समस्या भएकाले तुरुन्त NICU को व्यवस्था गरियोस् ।
३. ल्याबमा हुने गरेको हेल्चेक्र्याइँ प्राविधिकहरुको लापरबाही र अदक्ष जनशक्तिका कारण रिपोर्टहरु गलत आउने गरेकाले दक्ष कर्मचारीको व्यवस्थापन गरियोस् ।
४. अस्पतालमा विभागीय प्रमुखहरुले अस्पताल नजिक निजी क्लिनिक, फार्मेसी, ल्याब र रेडियोलोजी सञ्चालन गर्न नपाउने व्यवस्था गरियोस् ।
५. अस्पतालको पोस्ट अफ वार्ड माथिल्लो तलामा हुँदा समस्या देखिएकाले तल्लो वार्डमा नै व्यवस्था गरियोस् ।
६. विमा सेवा र नेपाल सरकारबाट निःशुल्क उपलब्ध हुने औषधिहरु तथा सेवा सुविधाहरु सूचिकृत गरी नागरिक वडापत्र राखियोस् ।
७. आइसीयू, भेन्टिलेटर, डाइलोसिस सेवाको उचित व्यवस्थापन गरी सुचारु गरियोस् ।
८. डाइलोसिस सेवाको ठेक्का रद्द गरी अस्पतालको मातहतमा ल्याइयोस् ।
९. जेष्ठ नागरिक, अपांग र अशक्तहरुको लागि छुट्टै पुर्जा काउन्टरको व्यवस्था गरियोस् ।
१०. डाक्टर तथा कर्मचारीको दैनिक हाजिरी एवम् आउने जाने समयको प्रत्येक्ष निगरानी राखी तोकिएको समयसम्ममा डाक्टर भेट्न सकिने गरी व्यवस्था मिलाइयोस् ।
११. टोकन मेसिनको व्यवस्था एवम् प्रतीक्षालयको उचित व्यवस्था गरियोस् ।
१२. अस्पतालबाट लाग्ने ठेक्का प्रक्रियाहरु औषधि, सरसफाइ, केमिकल, रासन तथा जिन्सी समानहरुको ठेक्का प्रक्रिया पारदर्शी बनाइयोस् ।
१३. विमाबाट वितरण हुने औषधिको वितरण कार्य अस्पतालको निजी सटरमा व्यवस्थापन गरियोस् ।
१४. MBBS चिकित्सकको नाम उल्लेखित वोर्डको व्यवस्था गरियोस् ।
१५. बिरामीहरुको रोग वर्गीकरण गरी विशेषज्ञ चिकित्सकहरुको मातहतमा राखियोस् ।
१६) आकस्मिक सेवाको प्रयोगशालालाई उचित व्यवस्थापन गरियोस् ।
१७. विभागीय इञ्चार्जहरुको नाम र फोन नम्बर उल्लेख गरी प्रत्येक वार्डमा टाँस गरियोस् ।
१८. प्याथोलोजीका नमुना कलेक्सन र रिपोर्ट वितरणमा उचित व्यवस्था मिलाइयोस् ।
१९. बिरामीलाई टेण्डर अनुसारको खाना वितरण गरियोस् ।
२०. अस्पतालमा कार्यरत कर्मचारीहरुले आफूले पाएको पदीय नियुक्ति अनुसारको कामको जिम्मेवारी बहन गरे÷नगरेको अनुगमन गरियोस् ।
२१. अस्पताल परिसरभित्र उत्पादन भएका फोहोरको उचित व्यवस्थापन गरियोस् ।
२२. अस्पतालको बेड, बेडसिट, मेट्रेस र पिलो कभरको उचित व्यवस्था मिलाइयोस् ।
२३. अस्पतालमा हुने इन्धन खपतलाई न्यूनीकरण गर्दै चुहावटलाई बन्द गरियोस् र खपत सार्वजनिक गरियोस् ।
२४. अस्पतालमा गुनासो सुन्ने अधिकारीको नाम थर र मोबाइल देखिने गरी राखियोस् ।
२५. विशेषज्ञताको आधारमा चिकित्सकहरुको वर्गीकरण गरी कोठा नम्बरको उल्लेख गरियोस् ।
२६. अस्पताल जाने बाटो देखाउने हस्पिटल मोडमा साइनबोर्डको व्यवस्था गरियोस् ।
२७. अस्पताल विकास समितिका अध्यक्ष लगायतका पदाधिकारीहरु हप्ताको कम्तीमा तीन दिन अनिवार्य उपस्थिति भई अनुगमन गरियोस् ।
२८. अस्पताललाई व्यवस्थित गर्न अस्पताल विकास समितिमार्फत अस्पताल व्यवस्थापक पदको दरबन्दी माग गरियोस् ।
२९. ESH अथवा Extruded health service को व्यवस्था गरियोस् ।
३०. अस्पतालद्वारा सञ्चालित एम्बुलेन्स सेवा पुनः सुचारु गरियोस् ।
३१. अस्पताल सरसफाईमा विशेष ध्यान दिँदै शौचालय, धारा पानी र बत्ति आदिको तुरुन्तै व्यवस्था मिलाइयोस् ।
३२. अस्पताल विकास समिति मार्फत MRI को व्यवस्थाको लागि तुरुन्तै पहल शुरु गरियोस् ।
३३. भिडियो एक्स–रेका लागि बिहानदेखि खाली पेट बस्नुपर्ने भएकाले बिहान ८ः०० बजेदेखि नै गर्ने गरी व्यवस्था मिलाइयोस् ।
३४. गरीब विपन्नको लागि निःशुल्क उपचार गर्न दिइने फ्री–फर्म उचित व्यक्तिले सहज रूपमा पाउने व्यवस्था गरियोस् ।
३५. अस्पताल परिसरभित्र सडक बत्तिको व्यवस्था गरियोस् ।
३६. सम्बन्धित वडाको जनप्रतिनिधिलाई पदेन सदस्य राखियोस् ।

प्रकाशित मिति: २०२२-०७-३१ , समय : २०:२९:१४ , ३ वर्ष अगाडि

error: Content is protected !!