झापा एक्सप्रेस , ११७२३ पटक हेरिएको
बिर्तामोड। एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले खुद नाफामा आकर्षक सुधार गर्न सफल भएको छ ।
गत आवको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको यसै अवधिसम्मको तुलनामा ३८.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म एनआइसी एशिया बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अन्तरालमा बैंकले नाफामा उत्कृष्ट सुधार गरेको हो ।
समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढ्न पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशत बढेर ११ अर्ब ७७ करोड २१ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी २४.३७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको खुद सञ्चालन आम्दानी २५.९२ प्रतिशत र सञ्चालन मुनाफा ३३.५९ प्रतिशतले बढेर ६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवैमा प्रगति हुँदा नाफामा सुधार देखिएको हो ।
गत आवको चौथो त्रैमाससम्म बैंकले २ खर्ब ८९ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने २ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
त्यस्तै, नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ९५ पैसा बढेर ३९ रुपैयाँ १३ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ५२ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता ११ अर्ब ५६ करोड रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ४५.५१ प्रतिशत बढेर १३ अर्ब ५८ करोड रुपैयाँ संचित रहेको छ ।
प्रकाशित मिति: २०२२-०७-२२ , समय : ०८:१५:२४ , २ वर्ष अगाडि