सामाजिक गतिविधिमा सुरुङगा जेसीजकाे तिब्रता

Jhapa Express , १७४९५  पटक हेरिएको

कनकाई । सुरुङगा जेसीजले सामाजिक गतिविधिका कामलाई तिब्रता दिएको छ ।

सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको हो ।

यसैक्रममा जेसीजले विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । कनकाई–७ स्थित एकान्त टोल स्थित मेयर आवासमा रहेका अति विपन्न वर्गका ३६ जनाभन्दा धेरैलाई न्यानो कपडा वितरण गरिएको संस्थाका महासचिव राजु पाठकले जानकारी दिएका छन् ।

त्यस्तै जेसीजको सभाहलमा अति विपन्न वर्गहरुका लागि ब्ल्याङकेट वितरण गरिएको छ । जेसीजले ३० जनाभन्दा बढी परिवारलाई उक्त सामग्री प्रदान गरेको अध्यक्ष न्यौपानेले बताएकी छिन् ।

जेसीजले आफ्ना सदस्यहरुको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ । जेसीज हलमा सम्पन्न कार्यक्रममा जेसीज सदस्य तथा ननजेसीज गरी करिब ५० जनाको सहभागिता रहेको थियो । जेसीजले सामाजिक कार्य अन्तर्गत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको कार्यक्रमका संयोजक रोहित कोइरालाले जानकारी दिएका छन् ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको भन्दै सुरुङ्गा जेसीजले विभिन्न सामाजिक कामलाई तिब्रता दिइरहेको छ । प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री हिराकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तालिम हलको समेत उदघाटन गरिएको प्रेस संयोजक चन्द्र बस्नेतले जानकारी दिएका छन् ।

सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले बताइन् ।

प्रकाशित मिति: २०२२-०३-०१ , समय : २०:२२:०० , २ वर्ष अगाडि