विश्व वातावरण दिवसको अवसरमा झापा गाउँपालिकामा वृक्षारोपण

झापा एक्सप्रेस , १९३०३  पटक हेरिएको

शरणामती।आज विश्व वातावरण दिवस।हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ।‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।

यसै विच झापा गाउँपालिका-६ शरणामती स्थीत दुई विद्यालयले यहाँ रहेको रानी सामुदायिक वनमा वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेका छन् ।चन्द्रज्योती र जय पाथीभरा अंग्रेजी माध्यमिक विद्यालयले वृक्षारोपण गरेर वातावरण दिवस मनाएका हुन् ।

नेपाल स्काउट झापा गाउँपालिकाको सहकार्यमा टिक र मसलाका एक सय बिरुवा रानीवनमा रोपेको चन्द्रज्योतीका प्रधानाध्यापक अनोज ताम्लीले बताए।त्यस्तै जय पाथीभराले विभिन्न जातका एक सय बिरुवा रोपेको प्रधानाध्यापक गणेश सुवेदीले जानकारी दिए।

वातावरण दिवसकै अवसर पारेर वडा नम्बर ६ ले समेत वृक्षारोपणको आयोजना गरेको थियो।वडाले यहाँ स्थीत चंद्रबस्ती नजिक रहेको बिरिंग खोलामा निर्माण गरिएको बाँधको डिल छेउमा विभिन्न जातका करिव २५० विरुवा रोपेको वडाध्यक्ष नवीनकिशोर थापाले बताए ।रोपेका विरुवाको संरक्षणमा सबै लाग्न समेत उनले आग्रह गरे।

प्रकाशित मिति: २०२२-०६-०५ , समय : १९:५१:२२ , २ वर्ष अगाडि