वडाध्यक्षका निर्णयहरु-सामाजिक सुरक्षा भत्ताको सहज वितरणमा जोड देखि एम्बुलेन्स खरिद सम्म

झापा एक्सप्रेस , ९८३६  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकाका जनप्रतिनिधिले बुधवार पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै वडाध्यक्षहरुले पदभार ग्रहण गर्दै आ-आफ्ना वडा कार्यालयबाट पहिलो निर्णय गरेका छन् ।

वडा नम्बर १ बाट निर्वाचित वडाध्यक्ष राजकुमार यादव र वडा २ का हिमालकुमार चम्लागाईंले पदभार ग्रहण गर्दै झापा गाउँपालिका अध्यक्षबाट भएको सिचाइँका लागि विद्युत विस्तार गर्ने प्रथम निर्णयलाईनै निरन्तरता दिने बताएका छन् ।

यता वडा नम्बर ३ का वडाध्यक्ष सुबासलाल गणेशले वडा कार्यालायमा पदभार ग्रहण गर्दै जेष्ठ नागरिक र अशक्त अपाङ्गलाई घर-घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेका छन् ।

त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष मोहमद ताहिरले पदभार ग्रहण गर्दै आजै दुई निर्णय गरेका छन् ।उनले वडा नम्बर ४ का सबै विपन्न परिवारलाई प्राथमिकताका आधारमा आवास बनाइदिने र वडाका सबै धार्मीक स्थलका पुजारीहरुलाई भत्ताको व्यवस्था गर्ने लिखित निर्णय गरेका छन् ।

यता वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद राजबंशीले पनि पदभार ग्रहण गर्दै दुई निर्णय गरेका छन् ।उनले पनि सामाजिक सुरक्षा भत्तालाई सहज वितरण गर्न बैंक सँग आवश्यक पहल गर्ने र आफ्नो वडाबाट सन्चालन गर्ने गरि एउटा एम्बुलेन्सको खरिद गर्ने निर्णय गरेका छन् ।

त्यस्तै वडा ६ का वडाध्यक्ष नविनकिशोर थापाले सामाजिक सुरक्षा भत्ता लिन अब बैंकमा लाइन लाग्नु पर्ने वाध्यताको अन्त्य गर्न वडाबाटै भत्ता वितरण गर्ने निर्णय गरेका छन् ।

यता वडा ७ का वडाध्यक्ष सखिचन्द्र ठाकुरले पदभार ग्रहण गर्दै स्वास्थ्यमा सबैको पहुँच स्थापना गर्न नियमित स्वास्थ शिविर सञ्चालन गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति: २०२२-०५-२५ , समय : २०:४३:५७ , २ वर्ष अगाडि