नयाँबजारमा किरात राजा यलम्बर र रेडपाण्डाको प्रतिमा उद्धघाटन

Jhapa Express , २५२५४  पटक हेरिएको

नयाँबजार । इलामको माइजोगमाई गाउपालिकाको केन्द्र नयाँबजारमा आज एक कार्यक्रमका बिच किरातहरुको प्रथम राजा यलम्बर र रेडपाण्डाको प्रतिमाको उद्घाटन गरिएको छ । यलम्बर राजाको सम्झनामा नयाँबजारमा रहेको किरातहरुको शाकेला थानमा यलम्बर राजा घोडामा चडेको प्रतिमाको उद्घाटन गरिएको हो ।

यलम्बर राजा घोडामा चढेको प्रतिमा नेपालमै नयाँ र पहिलो समेत रहेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए । उक्त प्रतिमा स्थापनाका लागि गाउँपालिका अध्यक्षले आफ्नो स्वर्गीय पिताको नाममा नगद एकलाख एक हजार, पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का सांसद झलनाथ खनालले एकलाख एक हजार, माईजोगमाई गाउँपालिकाबाट पाच लाख र अन्य सहयोगी दाताहरुबाट समेत रकम सहयोग गरि उक्त प्रतिमा स्थापना गरिएको बताइएको छ ।

त्यसैगरी गाउँपालिकाको केन्द्र नयाँबजारको मुख्य चोकमा रेडपान्डाको शालिक समेत अनावरण गरिएको छ । विश्वबाट लोपोन्मुख रहेको रेडपान्डा संरक्षणको सन्देश दिनका लागि शालिक निर्माण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले पहिचानको रुपमा रेडपान्डालाई लेटरप्याडमा समेत प्रयोग गदै आएको छ ।

उद्घाटन कार्यक्रममा मुर्ति निर्माण समितिका अध्यक्ष इन्द्र बहादुर राई को अध्यक्षता एवम माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राइको प्रमुख आतिथ्ता रहेको थियो । गाउँपालिका उपाध्यक्ष सावित्रादेवी भट्टराई, वडाध्यक्षहरु , इलाका प्रहरी कार्यलय नयाँबजारका प्रतिनिधि , शिव मन्दिर संरक्षण समिती अध्यक्ष ,सांगेछोलिङ्ग गुम्बाका लामा गुरु ,बजार व्यबस्थापन समिति अध्यक्ष ,समाजसेवी, माईजोगमाई गाउपालिका शिक्षा शाखा प्रमुख , विभिन्न पार्टिका जनप्रतिनिधीहरु लगायतको बाक्लो उपस्थितिमा प्रतिमा अनावरण गरिएको हो ।

कार्यक्रममा किरात राई यायोख्खा जातिय नृत्य शाकेला नाच समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै माईजोगमाई गाउपालिका अध्यक्ष तथा उद्घाटन समारोहका प्रमुख अतिथी जितबहादुर राईले गाउपालिकाले ईतिहास रचेको बताए । भोलि मान्छे नरहदा पनि यि यस्ता धार्मिक कुराहरुको इतिहासमा रहिरहने बताए । स्थानिय सरकार आएपछी हरेक क्षेत्रको धार्मिक क्षेत्रमा काम गरेको अध्यक्ष राईले बताए ।

प्रकाशित मिति: २०२२-०२-२७ , समय : २१:१२:४९ , ३ वर्ष अगाडि