गौरीगञ्जमा ६० सन्थाल विद्यार्थीलाई निःशुल्क सन्थाली वर्णमाला पुस्तक वितरण

झापा एक्सप्रेस , ११८३६  पटक हेरिएको

कुञ्जीबारी । झापाको गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीस्थित श्री बाल कल्याण माध्यमिक विद्यालयका ६० जना सन्थाल विद्यार्थीलाई निःशुल्क ‘सन्थाली वर्णमाला’ पुस्तक वितरण गरिएको छ।

सन्थाली ओल चिकी लिपिको अध्ययनलाई सहज बनाउने उद्देश्यले सन्थाली वर्णमाला व्यवस्थापन टिमका सदस्य विजय मुर्मुको सहयोगमा पुस्तक वितरण गरिएको हो।

करिब दुई महिनाअघिदेखि सहजकर्ता श्याम हेमरमको नेतृत्वमा हरेक हप्ता दुई स्थानमा सन्थाली ओल चिकी लिपि सिकाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ। तर, पुस्तकको अभावमा विद्यार्थीलाई अध्ययन गर्न कठिनाइ भइरहेको थियो। पुस्तक वितरणपछि विद्यार्थीलाई लिपि सिक्न सहज हुने अपेक्षा गरिएको छ।

पुस्तक वितरण कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका पूर्व कार्यपालिका सदस्य जेठा मुर्मु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर लिम्बु, स्थानीय समाजसेवी धर्मप्रसाद दाहाल, गंगाराम मुर्मुलगायतको उपस्थिति थियो।

‘सन्थाली वर्णमाला’ पुस्तक सिर्जन मिडिया प्रा.लि.का अध्यक्ष शिबु मुर्मु र बुधलाल किस्कुले ‘सिर्जन मिडिया बुक स्टोर’मार्फत निःशुल्क उपलब्ध गराएका हुन्।

स्थानीयका अनुसार सन्थाली भाषा, लिपि र संस्कृतिको संरक्षणका लागि समुदाय आफैँ सक्रिय भएर लागिरहेको छ। मातृभाषा र ओल चिकी लिपि सिक्ने तथा नयाँ पुस्तामा यसको ज्ञान हस्तान्तरण गर्ने प्रयास भइरहे पनि यसमा स्थानीय सरकारको पर्याप्त चासो र सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ।

स्थानीय सरकारले सन्थाली मातृभाषा तथा ओल चिकी लिपिको संरक्षण, प्रवर्द्धन र शिक्षण कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ। समुदायको आफ्नै पहलमा भइरहेको भाषा संरक्षण अभियानलाई संस्थागत सहयोग र आवश्यक स्रोतसाधन उपलब्ध गराउन सके यसको निरन्तरता र प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ।

सन्थाली भाषा, लिपि र संस्कृतिको संरक्षणमा स्थानीय समुदायको सक्रियतासँगै स्थानीय सरकारको सहयोग पनि अपरिहार्य देखिएको छ।

प्रकाशित मिति: २०२६-१०-१८ , समय : २०:०३:३६ , १ घन्टा अगाडि

error: Content is protected !!