गौरादह–८ को वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न

झापा एक्सप्रेस , १२९३  पटक हेरिएको

गौरादह, झापा। गौरादह नगरपालिका वडा नं. ८ ले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। मङ्गलबार वडाको सभाहलमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम, योजना कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहबारे जानकारी सार्वजनिक गरिएको हो।

वडाध्यक्ष गणेश कुमार राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाको वार्षिक योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन स्वयम् वडाध्यक्ष राजबंशीले प्रस्तुत गरेका थिए। उनले चालु आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माणका कार्य, सञ्चालनमा रहेका योजना तथा आगामी प्राथमिकताबारे जानकारी गराए।

त्यसैगरी वडा सचिव विष्णु लामिछानेले वडाको दैनिक प्रशासनिक कार्यसम्पादन, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ को असार १५ गतेसम्म वडा नं. ८ ले रु. २९ लाख १५ हजार ३९५ रुपैयाँ ८५ पैसा राजस्व संकलन गरेको जनाएको छ। साथै यस आर्थिक वर्षभित्र सम्पन्न भएका तथा कार्यान्वयनको चरणमा रहेका विभिन्न नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइमा सहभागीहरूले वडाको विकास, सेवा प्रवाह र आगामी योजनाबारे सुझाव तथा जिज्ञासा राखेका थिए भने वडाध्यक्ष राजबंशीले उठेका प्रश्नहरूको जवाफ दिँदै वडाको समग्र विकास र प्रभावकारी सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: २०२६-०६-३० , समय : २०:४७:५० , २ घन्टा अगाडि

error: Content is protected !!