गौरादह–२ को वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न

वडाध्यक्ष कोइरालाः "आलोचना तथ्यमा आधारित हुनुपर्छ"

झापा एक्सप्रेस , ११९३  पटक हेरिएको

गौरादह नगरपालिका वडा नं. २ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गौरादह नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वडाको वार्षिक प्रगति विवरण, सम्पन्न भएका विकास निर्माणका योजना, सेवा प्रवाह तथा आगामी कार्यक्रमबारे जानकारी प्रस्तुत गरिएको थियो।

कार्यक्रममा वडाध्यक्ष गोपाल कोइरालाले चालु आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माणका काम, सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रम र आगामी योजनाबारे विस्तृत जानकारी गराउँदै वडाको वार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीले विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा आगामी योजनासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। उठेका प्रश्नहरूको जवाफ दिँदै वडाध्यक्ष कोइरालाले जनप्रतिनिधि जनताप्रति उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गरे।

यसक्रममा सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेका टिप्पणीप्रति संकेत गर्दै उनले आलोचना तथ्य र प्रमाणमा आधारित हुनुपर्ने धारणा राखे। उनले भने, “फेसबुकमा लेख्न ट्याक्स तिर्नु पर्दैन। म पनि दुई विषयमा मास्टर्स गरेको मान्छे हुँ। मलाई लेख्न नआएर प्रतिक्रिया नदिएको होइन, तर आलोचना तथ्यमा आधारित हुनुपर्छ।”

उनले सामाजिक सञ्जालमा आउने हरेक टिप्पणीको पछि नलाग्ने उल्लेख गर्दै रचनात्मक सुझाव र प्रमाणसहितको आलोचनाले मात्र जनप्रतिनिधिलाई अझ जिम्मेवार र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२६-०६-३० , समय : २०:४४:२२ , ३ घन्टा अगाडि

error: Content is protected !!