झापा एक्सप्रेस , ५९४ पटक हेरिएको
झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरेको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” मार्फत गाउँपालिकाभित्रका ८० जना अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामग्री वितरण गरेको छ।
गाउँपालिकाले लाभग्राहीहरूको आवश्यकता, अपाङ्गताको प्रकृति तथा स्वास्थ्य अवस्थाको पहिचान गरी आवश्यकताअनुसार सामग्री उपलब्ध गराएको जनाएको छ। कार्यक्रम अन्तर्गत डिजिटल तथा सेमी–डिजिटल श्रवण यन्त्र २० थान, वाकर २ थान, एल–स्टिक २३ थान, बैशाखी ६ थान, शौचालय कुर्सी १० थान, परिमार्जित ह्वीलचेयर २ थान, सेरेब्रल पाल्सी स्ट्यान्डिङ फ्रेम ३ थान, ट्राइसाइकल ४ थान, मेडिकल बेड १ थान तथा सेरेब्रल पाल्सी चेयर ३ थान वितरण गरिएको हो।
गाउँपालिकाका अनुसार यस्ता सहायक सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापन सहज बनाउन, शारीरिक गतिशीलता तथा कार्यक्षमता बढाउन, आत्मनिर्भरता अभिवृद्धि गर्न र सामाजिक सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
झापा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र सम्मानजनक जीवन सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता समावेशी तथा आवश्यकतामा आधारित कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
प्रकाशित मिति: २०२६-०५-२२ , समय : २०:३०:५६ , २ घन्टा अगाडि