झापा एक्सप्रेस , १५०२ पटक हेरिएको
झापा । झापाको झापा गाउँपालिकामा अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका दुई युवकलाई शनिबार दिउँसो सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।
झापा गाउँपालिका वडा नं. १ स्थित बिलाईतीबारीमा खटिएको सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त गस्ती टोलीले शंका लागेर चेकचाँच गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद भएको हो।
भारतबाट मे ९ प ३९१७ नम्बरको स्कुटरमा नेपाल आउँदै गरेका कन्काई नगरपालिका वडा नं. ४ निवासी ३३ वर्षीय विक्रम चौधरी र सोही ठाउँका २८ वर्षीय साजन माझीलाई प्रहरीले रोकेर खानतलासी गरेको थियो। जाँचका क्रममा स्कुटरको डिकीभित्र रहेको चकलेटको डब्बामा प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लेसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ। उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: २०२६-०४-२५ , समय : १८:३१:५८ , ४ घन्टा अगाडि