झापा एक्सप्रेस , ११४२१ पटक हेरिएको

झापा – झापाको गौरादह नगरपालिकाको २ नं. वडा कार्यालयले शुक्रवार आयोजना गरेको वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गौरादह २ का वडा अध्यक्ष गोपाल प्रसाद कोइरालाले वडाको विकास र समृद्धिका लागि गर्न लागिएका विभिन्न योजना तथा कार्यक्रमको विस्तृत विवरण प्रस्तुत गरे। कार्यक्रममा वडा सदस्य शंकर कट्टेलले वडाको आ.व.२०८१/२०८२ को वडा स्तरिय योजना प्रतिवेदन प्रस्तुत गरे, जसमा ३१ वटा योजना र तिनका लागत तथा कार्यान्वयनको अवस्था उल्लेख गरिएको छ।
यसका साथै, नगर र प्रदेशस्तरका २८ वटा योजनाको बजेट सहितको प्रगति विवरण पनि विस्तारपूर्वक जानकारी गराए। वडा सचिव दिपा दाहालले दैनिक प्रशासनिक कार्यहरूको प्रगति, सामाजिक सुरक्षा भत्ता वितरण, व्यक्तिगत घटना दर्ताको सङ्ख्यात्मक विवरण, वडा समितिको बैठक संख्या, विभिन्न प्रमाणपत्र र सिफारिस, व्यवसाय दर्ता र नवीकरण, साथै राजस्व संकलनको वर्तमान स्थिति बारे जानकारी दिए।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ वडाका अध्यक्ष गोपाल प्रसाद कोइरालाले दिएका थिए। सार्वजनिक सुनुवाईले वडाका विकासका योजनाहरूमा सहभागीता र पारदर्शिता प्रवर्द्धन गरेको छ। यस कार्यक्रमले वडावासीहरूलाई उनीहरूको आवश्यकतामा आधारित योजनामा सक्रिय सहभागिता गर्न प्रोत्साहित गरेको छ।
प्रकाशित मिति: २०२५-०६-२८ , समय : ०७:०४:०६ , २ दिन अगाडि