पोखरेलको ‘रैतीको इतिहास’ लोकार्पण, दुई करोडको अक्षयकोष स्थापना

झापा एक्सप्रेस , १०६७०  पटक हेरिएको

सुरुङ्गा- झापाको कनकाई नगरपालिका दुर्गापुर निवासी स्व- गणेशप्रसाद पोखरेलको स्मृतिमा मरणोप्रान्त ‘रैतीको इतिहास’ नामक पुस्तक लोकार्पण गरिएको छ ।बिहिबार दुर्गापुरमा एक समारोहका बीच पुस्तकको लोकार्पण गरिएको हो ।

तत्कालिन सुरुंगा गाउँ पञ्चायतको चार पटक प्रधानपञ्च चलाएका, पञ्च भएर पनि जनप्रिय बन्न सफल स्व- पोखरेलको स्मृतिमा स्मृति प्रतिष्ठान पनि स्थापना गरिएको छ ।कनकाई नगरपालिकामा मुख्य कार्यालय रहने गरी स्थापना गरिएको प्रतिष्ठानमा परिवारको तर्फबाट दुई करोड रुपैंया अक्षयकोष घोषणा गरिएको छ ।

जेष्ठ पुत्र राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित लोकार्पण कार्यक्रममा साहित्य क्षेत्रका अगुवा साहित्यकार चुडामणी रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो।लोकार्पण कार्यक्रममा अतिथिहरु कोमलप्रसाद पोखरेल, पुष्पराज पोखरेल, चन्द्रप्रसाद मैनाली, जनार्दन उप्रेती, प्रेमप्रकाश फलाहरी, एकराज गिरी, विरही अधिकारी, खगेन्द्र खुशी, नवल किशोर दत्त, हिराप्रसाद पोखरेल लगायत रहेका थिए ।

कृष्ण अविरलको लेखन तथा सम्पादन रहेको ‘रैतीको इतिहासलाई’ अजम्बरी पव्लिकेशनले प्रकाश गरेको हो ।

पौरखी पोखरेल–वंशप्रति चासो राख्नेहरुमा, अनि पोखरेल–वंशका सन्ततिहरुमा, जसले पुर्खाको गौरवशाली इतिहास थाहा पाउन जरुरी छ भनेर समर्पण गरिएको पुस्तक ३३५ पृष्ठको रहेको पुस्तकमा ४५ वटा विषयबस्तुहरु समावेस गरिएको छ । जसमा महाराजाबाट न्याय भएन, नाबालक छँदै मुद्धाका झमेला, काठमाडौं यात्राको रहर, दाजुमाथी राजकाज मुद्धा, यसरी जितेँ मुद्धा, पुख्यौँली जरो पहिल्याउदा जस्ता विषयहरु समेटिएको छ । पुस्तकको मुल्य ५ सय रुपैंया राखिएको छ । पुस्तकको विक्रीबाट आएको रकम जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा पुस्तकालय बनाउने काममा उपयोग गरिने छोरा दिनेशकुमार पोखरलेलले जानकारी दिनु भयो ।

कार्यक्रममा छोरी अप्सरा पोखरेलले पुस्तक प्रकाशन गर्नुको औतित्यमाथी प्रकास पार्नु भएको थियो ।स्वागत छोरा निर्माण पोखरेलले गरेका थिए । पुस्तकको समिक्षा साहित्यकार कोमलप्रसाद पोखरेलले गरेका थिए त्यस्तै कार्यक्रमको संचालन डा. पुण्यप्रसाद सिग्देलले गरेका थिए।
फोटो-विनोद पाण्डे

प्रकाशित मिति: २०२२-०४-२२ , समय : १९:२८:२७ , ३ वर्ष अगाडि