झापा एक्सप्रेस , ५३३ पटक हेरिएको
झापा । सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय झापाको आयोजना तथा सशस्त्र प्रहरी बल, नेपाल फिल्ड अस्पताल पकली, सुनसरीको प्राविधिक सहकार्यमा झापा गाउँपालिका–४ स्थित डिल्लीराज माध्यमिक विद्यालयको प्राङ्गणमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशीको प्रमुख आतिथ्यतामा आयोजित शिविरमा फिल्ड अस्पताल पकलीबाट प्रा. सशस्त्र प्रहरी निरीक्षक डा. कुसुम श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय चिकित्सक टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो।
कार्यक्रममा झापा गाउँपालिका–२ का वडा अध्यक्ष हिमाल कुमार चम्लागाई, वडा नं. ४ का वडा अध्यक्ष महमद ताहिर, सशस्त्र प्रहरी बल बीओपी टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक नारायण तामाङ तथा बीओपी पन्थपाडाका सशस्त्र प्रहरी निरीक्षक दिनेश बोम्जन लगायतको उपस्थिति रहेको थियो।
शिविरमार्फत १३६ जना पुरुष र ६९ जना महिला गरी जम्मा २०५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणपछि आवश्यकताअनुसार बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको आयोजकले जनाएको छ।
ग्रामीण तथा सीमावर्ती क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएका छन्। स्थानीयले यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै सशस्त्र प्रहरी बलको पहलप्रति आभार व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२६-०७-१५ , समय : २०:३१:४८ , १ घन्टा अगाडि